प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले काठमाण्डाैमा गर्ने शक्ति प्रदर्शनलाई लक्षित गरेर सुरक्षा व्यवस्था र ट्राफिक व्यवस्थापनमा कडाइ गरिएको छ ।
विरोध कार्यक्रमलाई लक्षित गर्दै अहिले काठमाण्डाैको चक्रपथभित्र भाडाका गाडी चलाउन दिइएको छैन । काठमाण्डाैका विभिन्न ठाउँबाट जुलुस निकालेर भृकुटीमण्डपमा शक्ति प्रदर्शन हुने भएकाले ट्राफिक व्यवस्थापन र सुरक्षा व्यवस्थापनमा त्यसैअनुसार तयारी गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
बाहिरी जिल्लाबाट समेत प्रदर्शनमा सहभागी हुनेहरु आउने भएकाले गाडी आवतजावतमा विशेष ध्यान दिइएको महाशाखाले जनाएको छ । नेकपाको प्रचण्ड-नेपाल समूहले अहिले काठमाण्डाैको भृकुटीमण्डप ‘वान वे’ सडकमा कार्यक्रम गर्ने ठाउँ बनाइरहेको छ ।
माइतीघर, डिल्लीबजारको चालखाल, लैनचौर, त्रिपुरेश्वर, शान्तिबाटिका, त्रिचन्द्र क्याम्पस, वाल्मीकि क्याम्पसलगायत ठाउँबाट निकालिएको जुलुस भृकुटीमण्डपमा शक्ति प्रदर्शनको रुपमा प्रदर्शन हुनेछ । उनीहरुको प्रदर्शनका कारण सडक अवरुद्ध हुने भएकाले गाडीहरुलाई आवश्यकताअनुसार डाइभर्सन गरिने महाशाखाले जनाएको छ ।