महासंघले व्यावसायिक आचारसंहिता पूर्ण पालना गरी व्यापार व्यवसाय गर्न आग्रह


महासंघले व्यावसायिक आचारसंहिता पूर्ण पालना गरी व्यापार व्यवसाय गर्न आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले व्यावसायिक आचारसंहिता पूर्ण पालना गरी व्यापार व्यवसाय गर्न आग्रह गरेको छ ।

विश्वव्याधी कोभिड-१९ का कारण नेपाल पनि पछिल्लोपटक निकै प्रभावित बन्दै गएको छ । कोरोना संक्रमितहरूको संख्या तीव्र रूपमा बढ्दै छ । यसले मुलुकबासीको स्वास्थ्य सुरक्षा निकै पेचिलो बन्दै गएको छ भने अर्थतन्त्रमा गम्भीर असर परिरहेको छ । समग्रमा मुलुक इतिहासकै सबैभन्दा संकटतर्फ उन्‍मुख छ । महामारीको यो अवस्थामा सबैभन्दा पहिलो प्राथमिकता आमसर्वसाधारणको स्वास्थ्य सुरक्षा र बाँच्‍न पाउने अधिकारको रक्षा नै रहेको महासंघले जनाएको छ ।

यस्तो कठिन घडीमा कहिकतै कम गुणस्तरीय सामान बिक्री वितरण भएको, उपभोग्य मिति गुज्रेका सामानको बिक्री-वितरण, म्याद गुज्रेका वस्तुमा पुनः उपभोग्य मिति राखी बजारमा पठाइएको, निश्चित तौल नपुर्‍याई सामान बजारमा बिक्री गरेकोलगायत प्रचलित कानुनविपरीत कार्य भएको भन्‍ने गुनासाहरू आएकोतर्फ महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

“कहिल्यै र कहींकतैबाट जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयमा लापरबाही हुनुहुँदैन । कसैलाई पनि जनताको प्रत्यक्ष स्वास्थ्यसँग खेलबाड हुने र प्रचलित कानुनविपरीत कार्य गर्ने छुट छैन । यदि कहींकतैबाट भएको रहेछ भने कानुनअनुसार कारबाहीको भागिदार हुनुपर्ने हुँदा प्रचलित कानुनविपरीतका कार्यमा संलग्‍न नहुन सम्बन्धित सवैमा आग्रह गर्दै महासंघ आफ्ना सबै सदस्य जिल्ला/नगर उद्योग वाणिज्य संघहरूमार्फत मुलुकभरका उद्यमी व्यवसायीहरूमा व्यावसायिक आचार-संहिताको पूर्णपालना गरी व्यापार व्यवसाय गर्न आह्‍वान गर्दछ,” महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

निजी क्षेत्रले महामारीमा नेपाल सरकारलाई दरिलो साथ र सहयोग दिँदै आएको र अत्यावश्यक वस्तुहरूको आपूर्तिमा अहोरात्र खटिरहेको जनाएको छ । महामारीमा मुलुकको आपूर्ति प्रणालीमा कुनै रोकावट आउन नदिन आफू र आफ्नो परिवारको समेत ज्यान जोखिममा राखेर अहोरात्र खटिरहेका सम्पूर्ण उद्यमी व्यवसायीहरूप्रति महासंघले आभार पनि प्रकट गरेको छ ।

महासंघले चाडबाड लक्षित गरी बजार अनुगमनको कार्यलाई तीव्रता दिनुभन्दा पनि अनुगमनको कार्यलाई वर्षैभरि निरन्तरता दिन र यस्ता कार्यमा महासंघका सदस्य जिल्ला/नगर उद्योग वाणिज्य संघहरूलाई पनि एकसाथ लैजाने संरचना निर्माण गरी अनुगमन प्रणालीलाई विधिवत् रूपमा अघि बढाउँदै सबै सरोकारवालाहरूको आत्मसम्मानको सुरक्षा गर्नसमेत सरकारसँग माग गरेको छ ।

12khari


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...