अमेरिका, बीबीसी | अमेरिकी अन्तरिक्ष निकाय (नासा)ले मङ्गल ग्रहमा खोजबिनका लागि नयाँ रोबट (रोभर) पर्सिभरेन्स पठाउँदैछ।
तर हामीले बिर्सन नहुने कुरा के हो भने त्यहाँ अहिले नै पनि क्युरिअसिटी नामको रोबटले काम गरिरहेको छ। सन् २०१२ मा उक्त ग्रहमा अवतरण गरेपछि उसले राम्रैसँग काम गरिरहेको छ।

क्युरिअसिटीले आउँदो मङ्गलवार रातो ग्रह भनेर चिनिने मङ्गल ग्रहमा ३ हजार दिन पूरा गर्दैछ।
मङ्गल ग्रहको एक दिन २४ घण्टा ३९ मिनेट लामो हुन्छ। उक्त मिशनले क्युरिअसिटी रोभरका मुख्य उपलब्धि झल्कने केही तस्बिरहरू सङ्कलन गरेको छ।
सन् २०१८ को जून महिनामा यी तस्बिरहरू प्राप्त गरेपछि मिशन दलले ठूलो राहत महसुस गर्यो। त्यो मङ्गल ग्रहमा धुलाम्मे अवस्था हुँदाको समय भएपनि रोभरले पुन: खन्ने काम सुरु गरेको थियो।
सन् २०१६ पछि खनेर निकालिएको पहिलो ढुङ्गे नमूना 'दुलुथ' थियो। एउटा प्राविधिक समस्याले उक्त खन्ने कामको अवस्था थाहा हुन छाडेको थियो।

सन् २०१८ को जून महिनायता नयाँ उपायको योजना बनाउँदै त्यसको निकै महत्त्वपूर्ण मानिने खन्ने काम पुन: लयमा फर्काइएको थियो।
मङ्गल ग्रहमा ग्रहण यस्तो देखिन्छ
हरेक मङ्गल वर्षमा दुईपटक उक्त ग्रहका दुईवटा चन्द्रमा - फोबोस र डिमोस सूर्यको अगाडिपट्टि देखिन्छन्। क्युरिअसिटीले ३५ सेकेन्डको उक्त ट्रान्जिट देखेको छ।