मौसम परिवर्तनले पनि हुन्छ डिप्रेसन (लक्षण र कम गर्ने तरिका )


मौसम परिवर्तनले पनि हुन्छ डिप्रेसन (लक्षण र कम गर्ने तरिका )

एजेन्सी | सिजनल अफेक्टिभ डिसअर्डर (एसएडी) डिप्रेसनको एउटा प्रकार हो, जुन मौसम परिवर्तनसँग सम्बन्धित छ । यो डिप्रेसन हरेक वर्ष एउटै समयमा सुरु भएर त्यही समयमा निको हुने गर्छ । अर्थात् कुनै व्यक्तिमा सेप्टेम्बरमा डिप्रेसनको लक्षण देखिएमा अर्को वर्ष पनि सेप्टेम्बरमै फेरि डिप्रेसन देखिने गर्छ ।

सामान्यतया गर्मी मौसमको सुरुवात वा अन्त्यतिर सिजनल अफेक्टिभ डिसअर्डरसम्बन्धी समस्या देखिने गर्छ । एसएडीलाई सामान्य भाषामा विन्टर डिप्रेसन पनि भनिन्छ । अमेरिकन साइक्याट्रिक एसोसिएसनका अनुसार यो दिमागमा हुने एक किसिमको असन्तुलन हो, जुन सूर्यको किरणको अभावका कारण उत्पन्न हुन्छ ।

सूर्यको प्रकाश कम पर्दा वा घामबाट वञ्चित हँुदा यसले मानिसको दिमागमा हुने सेरोटोनिनलाई असर गर्छ । यो एक किसिमको न्युरोट्रान्समिटर हो जसले मुडलाई परिवर्तन गर्ने गर्छ । मुडमा असामान्य रूपमा हुने परिवर्तनका कारण डिप्रेसन हुने गर्छ । सामान्यतया घामको किरण कम पुग्ने स्थानमा बसोवास गर्नेहरूमा सिजनल अफेक्टिभ डिसअर्डरको जोखिम बढी हुने गरेको पाइन्छ । नेसनल इन्स्टिच्युट अफ हेल्थका अनुसार अन्य डिप्रेसनका समस्या भएमा वा बायोपोलार समस्या भएका व्यक्ति एसएडीबाट बढी प्रभावित हुन्छन् ।

महामारीमा सिजनल अफेक्टिभ डिसअर्डरको झनै जोखिम
कोरोना महामारीका कारण मानसिक समस्यासम्बन्धी जोखिम दोब्बरले बढिरहेको विभिन्न अध्ययनले देखाएका छन् । महामारीका कारण उत्पन्न असामान्य परिस्थितिका कारण सिजनल अफेक्टिभ डिसअर्डरको जोखिम झनै बढिरहेको विज्ञहरू बताउँछन् । यसको कारण अत्यधिक समय घरभित्रै बस्नु र तनावको स्तर बढी हुनुलाई मानिएको छ ।

महामारीका कारण जारी लकडाउनले घरभित्रै रहेर काम गर्नुपर्ने बाध्यताले पनि यसको जोखिम बढेको विज्ञहरूको भनाइ छ । यस्तो अवस्थामा तनाव व्यवस्थापन गर्न नसक्ने र घामबाट वञ्चित हुँदा तनावको स्तर बढ्ने भएकाले एसएडीको समस्या बढेको मानिन्छ ।

लक्षण
नेसनल इन्स्टिच्युट अफ हेल्थका अनुसार सिजनल अफेक्टिभ डिसअर्डर हुँदा शरीर कमजोर भएको महसुस हुन्छ ।
–अत्यधिक निद्रा लाग्छ ।
–धेरै खाना खान मन लाग्छ ।
–तौल बढ्ने ।

सिजनल अफेक्टिभ डिसअर्डर कसरी कम गर्ने
असामान्य परिस्थितिका कारण अधिकांशले कुनै न कुनै मानसिक समस्या भोगिरहेका छन् । खासगरी अत्यधिक तनाव लिने व्यक्ति अझै बढी जोखिममा छन् । अन्य डिप्रेसनको समस्या भएका व्यक्ति त झनै यसबाट पीडित बनिरहेका छन् ।

सामान्यतया मुडमा आउने परिवर्तनहरू सजिलै नियन्त्रण गर्न सकिँदैन । मानसिक रूपमा स्वस्थ रहनका लागि नियमित व्यायाम गर्ने, स्वस्थ खानपान, पर्याप्त निद्रा, दिमागलाई व्यस्त राख्ने, दिनमा कम्तीमा ४० मिनेट जति घाममा बस्ने गर्नुपर्छ ।

सिजनल अफेक्टिभ डिसअर्डर पूर्ण रूपमा नियन्त्रण गर्न सकिँदैन, तर विभिन्न उपचारको माध्यमबाट नियन्त्रणमा राख्न भने सकिन्छ । सिजनल अफेक्टिभ डिसअर्डरका लागि भिटामिन डी सप्लिमेन्ट, थेरापी, औषधि आवश्यक हुन्छन् । गम्भीर लक्षण देखिएमा चिकित्सकको परामर्श आवश्यक पर्छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...