http://bit.ly/bajajdurbartimes

मेलम्चीको पानी वितरणका लागि तयारी अन्तिम चरणमा, ५१ करोड लिटर पानी उपत्यकामा आउने


मेलम्चीको पानी वितरणका लागि तयारी अन्तिम चरणमा, ५१ करोड लिटर पानी उपत्यकामा आउने

काठमाण्डाै - काठमाण्डाै उपत्यकामा मेलम्चीको पानी ल्याउन पुनः परीक्षण गर्ने तयारी भइरहँदा पानी वितरणका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ ।

मेलम्ची खानेपानी विकास समितिले पानी पुनः परीक्षणको तयारी गरिरहँदा आयोजना कार्यान्वयन निर्देशनालयले अधिकांश ठाउँमा नयाँ र कतिपय ठाउँमा पुरानो पाइपबाट वितरणका लागि तयारी अघि बढाएको हो ।

निर्देशनालयको जिम्मेवारी सुन्दरीजलमा पानी झरेपछि उपत्यकामा समानुपातिक वितरण गर्न पूर्वाधार तयार गर्ने भएकाले त्यसैको काम भइरहेको निर्देशनालयका सूचना अधिकारी उज्ज्वल प्रजापतिले बताउनुभयो । उहाँकाअनुसार धेरै काम सकिए पनि अहिले बाँकी काम भइरहेको छ । उहाँले भन्नुभयो, 'पाइप निर्माण भएका ठाउँमा नयाँ र नभएका स्थानमा पुरानो पाइपबाटै पानी वितरण गर्ने योजना छ ।'

पानी वितरणका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण सकिएका ठाउँमा परीक्षण (टेस्टिङ एण्ड कमिसनिङ) भइरहेको सूचना अधिकारी प्रजापतिले जानकारी दिनुभयो । निर्देशनालयले नयाँ निर्माण भएका पाइपहरुमा चुहावट छ/छैन भन्ने हेरिरहेको छ । कतिपय सानो क्षेत्रमा ट्याङ्करको पानीबाट परीक्षण भइरहेको छ ।

ठूलो क्षेत्रमा गर्न बाँकी भएको र त्यहाँ पानी उपत्यकामा खसेपछि परीक्षण हुने उहाँको भनाइ छ । उपत्यकामा मेलम्चीको पानी आएपछि पुरानो पाइपबाट वितरण हुँदा नयाँ पाइपको परीक्षण सँगसँगै अघि बढाइनेछ ।

समितिले पहिलो चरणमा मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी ल्याउँदैछ । दोस्रो चरणमा याङ्ग्री र लार्केखोलाबाट थप १७/१७ करोड गरी जम्मा ५१ करोड लिटर उपत्यकामा आउनेछ । पहिलो चरणमा आउने दैनिक आउने १७ करोड लिटर पानीको वितरणका लागि पूर्वाधार निर्माण गरिएको निर्देशनालयले जनाएको छ । यो पानी चक्रपथभित्र सबै ठाउँमा वितरण हुन्छ ।

पहिलो चरणमा नै पानी मध्यपुर, कीर्तिपुरमा समेत वितरण हुने बताइएको छ । कपनमा पनि पानी वितरणका लागि पाइप निर्माण अघि बढाइएको छ । उहाँले भन्नुभयो, 'चक्रपथ बाहिर अहिले यी तीन ठाउँमा मात्रै पानी वितरण हुनेछ ।'

निर्देशनालयले पानी वितरणका लागि आवश्यक पाइपलाइन र नौ स्थानमा ट्याङ्की निर्माण गरिसकेको जनाएको छ । चक्रपथभित्र पाइपलाइन निर्माणका क्रममा भएका ठाउँमा पुरानो पाइपबाट पानी वितरण हुने सूचना अधिकारी प्रजापतिले जानकारी दिनुभयो ।

चक्रपथभित्र नयाँ पाइपलाइन नभएका ठाउँमा स्वयम्भू, ताहचल, पानीपोखरीलगायतका क्षेत्र पर्छन् । यी ठाउँमा गएकाे साउनमा ठेक्का सम्झौता गरिएको र चालु आवभित्रै निर्माण सम्पन्न गरिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, 'अरु ठाउँमा निर्माण सकिएपछि मात्रै त्यहाँ ठेक्का गरिएको थियो।'

उपत्यकामा १० ठाउँमा ट्याङ्की निर्माण गर्ने योजना बनाएको भए पनि अहिलेसम्म नौ ठाउँमा मात्रै निर्माण सम्पन्न भएको निर्देशनालयले जनाएको छ । भक्तपुरको कटुञ्जेमा ट्याङ्की निर्माणको क्रममा रहेको प्रजापतिले बताउनुभयो । यस ठाउँमा जग्गाका कारणले ट्याङ्की र पाइपलाइन दुवै निर्माण लामो समयसम्म अघि बढ्न सकेको थिएन । पाइपलाइनमा अझै विवाद भए पनि वैकल्पिक बाटोबाट निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो ।

मेलम्ची खोलाबाट सुरुङ हुँदै सुन्दरीजलको प्रशोधन केन्द्रसम्म पानी झार्न आवश्यक संरचना निर्माणको काम समितिको हो । सुन्दरीजलमा प्रशोधित पानी घरघरसम्म पुर्याउन संरचना निर्माण निर्देशनालयको हो भने काठमाण्डाै उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले पानी वितरण गर्नेछ ।

सुन्दरीजलबाट मुख्य वितरण लाइनबाट ट्याङ्की र ट्याङ्कीबाट वितरण पाइपमार्फत घरघरमा पानी पुग्ने उहाँले जानकारी दिनुभयो । मुख्य चक्रपथ वरिपरि वितरण लाइन रहेका छन्, त्यहीँबाट ट्याङ्कीसम्म पानी जानेछ । ट्याङ्कीबाट वितरण लाइन हुँदै घरघरमा पानी जाने उहाँले बताउनुभयो ।

निर्देशनालयले निर्माण गरेको ट्याङ्की काठमाण्डाैमा लाजिम्पाट, बाँसबारी पानीपोखरी, बालाजु, महाङ्काल, ललितपुरको खुमलटार र भक्तपुरको कटुञ्जेलगायतका ठाउँ रहेका छन् । सरकारले गएकाे असार महिनामा सुरुङको परीक्षण गर्दा दुर्घटना भएपछि सुरुङमा रहेका त्रुटि सच्याएर पुनः परीक्षण गर्न लागिएको छ ।

सुरुङमा रहेको त्रुटि सच्याउने काम सकिन लागेकाले पुनः सुरुङमा पानी पठाएर परीक्षण गर्ने योजना बनाइएको खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताउनुभयो । उहाँकाअनुसार त्रुटि सच्याउने कामसँगै सुरुङमा पुनरावलोकनको काम भइरहेको छ ।

सुरुङमा पानी पठाउन थालिएको दुई महिनासम्म परीक्षण गर्न समय लाग्ने उहाँको भनाइ छ । मन्त्रालयले बनाएको कार्यविधिअनुसार थोरै परिमाणमा गरेर पानी पठाइनेछ । सुरुङमा पानी भरिएपछि पनि केही दिन ‘होल्ड’ गरेर राखिने उहाँले जानकारी दिनुभयो । पानीभित्र भरिएर केही दिन राख्दा बल्ल कतै समस्या छ÷छैन थाहा हुने र समस्या छैन भन्ने भएपछि मात्रै पानी झारिनेछ ।

1

शंकर पाेख्रेलः नेपालज्यू एमालेविरुद्ध घात भएन ?

2

माउन्ट केटुमा निर्मलसहित १० नेपालीकाे नयाँ रेकर्ड कायम

3

दुई आमाको गर्भमा बसेर जन्मियो बच्चा, कसरी भयो यस्तो चमत्कार ?

4

पीएसजी शीर्ष स्थानमा,पोचिटिनो नेतृत्वको ७ खेल अपराजित

5

हिन्दी अन्तर्वार्ता

6

सिंगटी हाइड्रोको आईपीओ बिक्री खुल्ला


Share Tweet Send