राष्ट्रिय महिला लिगमा आज विभागिय टोली त्रिभुवन आर्मी फूटबल क्लब र नेपाल एपिएफ क्लब भिड्दै छन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो २:३० बजे शुरु हुनेछ ।
पछिल्लो दुई खेलमा फराकिलो जित हात पारेको एपिएफ आजको खेलमापनि विजयी यात्रालाई निरन्तरता दिन चाहन्छ । एपीएफले पहिलो खेलमा चन्द्रपुर नगरपालिकालाई ६-० गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा बिराटनगर महानगरपालिकामाथि ७-० गोलको फराकिलो जित निकालेको थियो । दुवै खेलमा सावित्रा भण्डारीले ह्याट्रिक गरेकी थिइन् । हाल एपिएफ लिगको २ खेलमा ६ अङ्क जोड्दै शिर्ष स्थानमा छ ।
यता त्रिभुवन आर्मी फूटबल क्लबपनि लिगमा अपराजित रहेको छ । पहिलो खेलमा पुलिसँग बराबरीमा रोकिएको आर्मीले दोस्रो खेलमा विमला चौधरीको ह्याट्रिकको सहयोगमा वालिङ नगरपालिकालाई ७-० गोल अन्तरले पराजित गरेको थियो । आर्मी दुई खेलमा ४ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा छ ।
आजनै हुने अर्को खेलमा नेपाल पुलिस क्लबले स्याङ्जाको वालिङ नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ ।
पुलिस र वालिङबीचको खेल बिहान ११:३० बजे सुरु हुनेछ । वालिङविरुद्ध मैदान उत्रदा पुलिस दोस्रो जितको खोजीमा हुनेछ भने वालिङ पहिलो जितको खोजीमा हुनेछ ।