काठमाण्डौं | उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नारायणकाजी श्रेष्ठ आएपछि पूर्वमाओवादीको दुर्दशा सुरू भएको बताएका छन्।
धनगढीमा ओली पक्षीय पत्रकारहरूको भेलामा उनले यसो बताएका हुन्।
उनले भने,'नारायणकाजी आएपछि मोहन वैद्य छुटे, विप्लव छुटे। फुटमा नारायणकाजीको महत्वपूर्ण भूमिका छ।'
प्रचण्डले धनगढीमा आएर लेखराज भट्ट ओलीतिर गएपछि केही दिन निद्रा नलागेको बताएका थिए। त्यसको जवाफमा उनले आफ्नो पीरले भन्दा कुर्सीको यादले निद्रा नलागेको हुनसक्ने बताए। त्यस्तै निन्द्रा नपुगेर अस्वस्थ भएपछि प्रचण्डले बोल्ने पनि ठेगान नलागेको उनले बताए।
'आफैंले हिजो केपी ओली महान् हो, १४ वर्षे जेल बसेको, हामी बाहिरबाट लडेको उहाँ भित्रबाट लडेको भन्ने प्रचण्डले उनैलाई अहिले निरंकुश भन्ने?,' उनले भने।
प्रचण्डले १९ बुँदे आरोपपत्र नल्याएको भए प्रधानमन्त्री ओलीले नेतृत्व हस्तान्तरण गर्न तयार भएको भट्टले बताए। त्यस्तै प्रधानमन्त्री ओली बैठकबाट भागेको भन्दा पनि भगाइएको उनले बताए।
पार्टीका समस्या स्थायी समितिमा बसेर टुंगो लगाउन तयार भए पनि पहिल्यै विशेष अधिवेशनका लागि हस्ताक्षर पठाइएको, महाअभियोग लगाउने अविश्वासको प्रस्ताव दर्ता गर्ने षड्यन्त्रमा प्रचण्ड-नेपाल पक्ष लागेको बताए।