स्पेनको जर्मनीमाथि सानदार जित, जर्मनीको पोस्टमा ६ गोल भएको छ । फ्रान्सले स्विडेनलाई पराजित गरेको छ । यो हारसँगै स्विडेन रेलिगेसनमा परेको छ ।
यूईएफए नेसन्स लिग फुटबलमा स्पेनले जर्मनीमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा स्पेनले जर्मनीलाई ६-० गोल अन्तरले पराजित गरेको हो ।
स्पेनको जितमा फेरान टोरेसले ह्याट्रिक गरे । अल्भारो मोराटा,रोड्री र मिकेल ओयाराज्बालले एक एक गोल गरे ।
जितसँगै स्पेन लिग 'ए' को समूह डीबाट सेमिफाइनलमा प्रवेश गरेको छ । स्पेनले ६ खेलमा ११ अंक जोड्यो । र, समूहको शीर्ष स्थानमा रहदै अघिल्लो चरणमा स्थान बनाएको हो । जर्मनी भने सेमिफाइनल पुग्नबाट बन्चित भएको छ । जर्मनीले ९ अंक जोड्यो ।
यस समूहकै अर्को खेल भने स्थगित भएको छ । युक्रेनका तीन खेलाडीमा कोरोना देखिएपछि युक्रेन र स्विट्जरल्यान्डबीचको खेल स्थगित भएको हो ।
यता फ्रान्सले स्विडेनलाई पराजित गरेको छ । मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा फ्रान्सले स्विडेनलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
जितसँगै लिग 'ए' समूह सीको फ्रान्सले ६ खेलमा ५ जितसहित १६ अंक जोड्यो । र, फ्रान्स अपराजित रहदै नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ ।
पुछारमा रहेको स्विडेन भने रेलिगेसनमा परेको छ । स्विडेनले ६ खेलमा ३ अंक जोड्यो । अब स्विडेनले आगामी वर्ष लिग 'बी' खेल्नेछ ।

