काठमाडाैं | नेपाल विद्यार्थी संघले कोभिड विरुद्धको खोपका लागि विद्यार्थीहरु प्राथमिकतामा नपरेको भन्दै सरकारले विद्यार्थीहरुलाई प्राथमिकताका साथ कोरोना विरुद्धको खोप नदिए सडक आन्दोलन गर्ने चेतावनी दिएको छ ।
संघले विद्यालय र क्याम्पसहरु खुलेका कारण विद्यार्थीहरुलाई कोरोनाको जोखिम बढेको भन्दैे प्राथमिकतामा राखेर कोरोना विरुद्धको खोप दिनुपर्ने माग गर्दे बिहीबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।
नेपाल विद्यार्थी संघका महामन्त्री दिपक भट्टराईले सरकारले विद्यार्थीहरुलाई प्राथमिकताका साथ कोरोना विरुद्धको खोप नदिए सडक आन्दोलन गर्ने बताएका छन । विद्यार्थीहरुलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउन माग गर्दै पहिलो चरणमा शान्तिपूर्ण रुपमा प्रदर्शन गरी सरकारको ध्यानाकर्षण गराएको महामन्त्री भट्टराईले बताए ।
‘नेपाल विद्यार्थी संघको सरोकार, विद्यार्थीलाई कोभिड–१९ भ्याक्सिनको पहिलो अधिकार’ लेखिएको ब्यानरसहित उनीहरुले प्रर्दशन गरेका थिए । प्रदर्शनका क्रममा उनीहरुले ‘अबको खोप हाम्रो हो’, ‘विद्यार्थीले लाउने खोप कहिले आउने ?’, ‘विद्यार्थी नै हो यो देशको आधार, अबको खोप हाम्रो अधिकार’, ‘भविष्यको कर्णधारले भविष्यमा नै हो त खोप पाउने ?’, ‘खोपको अधिकार सबैलाई’ लगायत लेखिएको विभिन्न प्लेकार्ड समेत बोकेका थिए ।