नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठक (आज) आइतबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको सचिवालयको बैठकले आज दिउँसो १२.३० बजे स्थायी कमिटी बैठक बोलाएको हो ।
बैठकमा समसामयिक राजनीतिक विषय, प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनको कार्यक्रमलगायतका विषयमा छलफल हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
शुक्रबार राजधानी काठमाण्डौमा शक्ति प्रदर्शन गरेको नेकपाले बैठकबाट थप सङ्घर्षका कार्यक्रम घोषणा गर्ने जनाएको छ । गत पुस ५ गते प्रतिनिधिसभाको विघटनपछि नेकपाले निरन्तर जनपरिचालन लगायतका कार्यक्रम अगाडि बढाउँदै आएको छ ।