संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद देखा पर्दा लोकतान्त्रिक गणतन्त्रको संविधान नरुचाउने भूतप्रेतहरु सल्बलाउन थालेको बताएका छन्।
झापाको विर्तामोडस्थित सिद्धार्थ होटल ग्रान्डसिटीको आज उद्घाटन उनले भने , ‘भूतप्रेतहरुले पोखरा र झापातिर कतै जुलुस निकालेको र कतै निकाल्न लागेको सुनिएको छ, नेकपामा तलमाथि भयो भने परिवर्तन र संविधान नचाहने शक्तिहरु हौसिन्छन् भन्ने यो उदाहरण हो।’
मन्त्री भट्टराईले नेकपामा देखिएको विवाद चाँडै हल हुने र त्यसपछि सुपरफास्ट गतिमा पार्टी अघि बढ्ने बताउँदै पार्टीको सचिवालय बैठकले समस्या निकास दिन नसके स्थायी कमिटीको बैठकले सचिवालयका सबै प्रतिवेदनहरु खारेज गरेर नयाँ निर्णय लिने बताएका छन्।
उनले भने , ‘स्थायी कमिटी निर्णय गर्न र समस्याको हल निकाल्न सक्षम छ, त्यो निर्णय कसैले नसोचेको पनि हुनसक्छ।’
नेकपा अहिलेको अप्ठ्यारो परिस्थितिबाट विभाजनलाई क्रमभङ्ग गर्दै अघि बढ्ने उल्लेख गर्दै उनले मुलुकमा विदेशी शक्ति, चरम दक्षिणपन्थी र चरम वामपन्थीको चलखेललाई विफल तुल्याइने दाबी गरे।रासस