नेपाल वायुसेवा निगमले बिहीबारदेखि भारतको दिल्ली उडान भर्दै छ। कोभिडका कारण चैत ११ गतेदेखि बन्द काठमाडौं–दिल्ली उडान ९ महिनापछि सुरु हुँदै छ। भारतको एयर बबल स्किम (दुवै मुलुकबाट १-१ उडान) प्रणालीअन्तर्गत बिहीबारदेखि नेपाली राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले दिल्ली उडान भर्दै छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कार्यवाहक महानिर्देशक देवचन्द्रलाल कर्णले निगमको एयरबस ए ३२० विमान काठमाडौं एयरपोर्टबाट दिउँसो साढे ११ बजे दिल्लीको लागि प्रस्थान गर्ने जानकारी दिए।
कर्णका अनुसार निगमले उडानका लागि आवश्यक सबै प्रक्रिया पूरा गरिसकेको छ। अहिलेको लागि प्रतिदिन एक उडान दिल्लीतर्फ हुने निगमले जनाएको छ। करिब आठ जना बिजनेस क्लास र १ सय ३८ जना इकोनोमिक क्लासको यात्रु लिएर उक्त विमान काठमाडौंबाट दिल्लीका लागि उडान भर्ने कर्णले जानकारी दिए। यस्तै सोही जहाज दिल्लीबाट करिब चार जना बिजनेस क्लास र १ सय ४ जना इकोनोमिक क्लासको बोकेर काठमाडौंको लागि उडान भर्नेछ।
भारतको सरकारी वायुसेवा कम्पनी एयर इन्डियाले पनि प्रतिदिन एक उडान दिल्ली–काठमाडौंका लागि भर्ने भारतीय दूतावासले जनाएको छ। भारतले भने डिसेम्बर २४ तारिखबाट काठमाडौं उडान भर्ने अनौपचारिक जानकारी प्राप्त भएको विमानस्थल स्रोतले जानकारी दिएको छ।