काठमाडौँ | नेपाल क्रिकेट संघ(क्यान) ले अस्ट्रेलियाका डेव ह्वाटमोरलाई राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
क्यानले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मुख्य प्रशिक्षकसहित विभिन्न पदाधिकारी नियुक्त गरेको जानकारी दिएको छ ।
नेपाल र ओमन अमेरिकाबीचको त्रिकोणात्मक सिरिजसँगै यसअघिका भारतीय प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका थिए। त्यसयता क्यान मुख्य प्रशिक्षकको खोजीमा थियो।
क्यानले पूर्वकप्तान विनोद दासलाई क्रिकेट म्यानेजरका रुपमा नियुक्त गरेको छ । त्यस्तै रौनकबहादुर मल्ललाई संघको महाप्रबन्धक, रमेशकुमार न्यौपानेलाई प्रमुख लेखा अधिकृतका रुपमा नियुक्त गरेको पनि संघले जनाएको छ ।
श्रीलंकामा जन्मिएका वाटमोरले अस्ट्रेलियन टीमबाट १९७९ मा डेब्यु गरेका थिए। खेल करियरमा भन्दा पनि प्रशिक्षकमा रुपमा उनी सफल देखिए। उनी प्रशिक्षक रहँदा श्रीलंकाले १९९६ को विश्वकप जितेको थियो। सन् १९९० यता श्रीलंका, बंगलादेश, पाकिस्तान जस्ता हेविवेट टिमहरुलाई सम्हालिसकेका छन्। सन् २०१४ मा जिम्बावेका प्रशिक्षक बनेका उनलाई सन् २०१६ को वर्ल्ड ट्रफीमा कमजोर प्रदर्शन पछि उनी त्यहाँको प्रशिक्षकबाट हटाइएको थियो।
