यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १ सय १० अंकले बढेको छ। साताको पहिलो दिन आइतबार २५२६.९२ अंकबाट कारोबार सुरु भएको परिसूचक अन्तिम दिन बिहीबार २६३६.६८ अंकमा कायम भएको छ। बिहीबार मात्र परिसूचक २५.२३ अंकले बढेको छ।
आज २ सय ६ वटा कम्पनीको १ करोड ९६ लाख ४६ हजार कित्ता सेयर ९० हजार २ सय पटक खरिद बिक्री हुँदा ८ अर्ब ७६ करोड २१ लाख ५६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
आज निर्जीवन, लघुवित्त र जीवन बिमा समूहको उपसूचक क्रमशः ५०.३, २८, र १०९.७३ अंकले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै व्यापार समूहको उपसूचक ७२.९२ अंकले बढेको छ।
नेपाल हाइड्रो डेभलपर्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता १० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा हिमालय ऊर्जा विकास कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ३.७० प्रतिशतका दरले गुमाएका छन्।
यही साताबाट कारोबार सुरु भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य बिहीबारसम्ममा प्रतिकित्ता ५ सय ४६ रूपैयाँ कायम भएको छ भने कम्पनीको बजार पूँजीकरण १ खर्ब रुपैयाँ नाघेको छ।