काठमाण्डाै : काठमाण्डाै उपत्यकामा निषेधाज्ञा एक हप्ताका लागि लम्बिएको छ ।
बुधबार बसेको तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारी र सरोकारवालाबीचको बैठकले निषेधाज्ञा एक हप्ता थपेको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।
उपत्यकामा गएको ३ गते रातिदेखि लागू भएको निषेधाज्ञा बुधबार राति १२ बजेदेखि सकिने भएपछि फेरि एक हप्ता, भदौ २४ गते राती १२:०० बजे सम्मको लागी थपिएको हो । यसअघि १० गतेसम्म लगाइएको निषेधाज्ञालाई लम्ब्याएर भदौ १७ गते बुधबार राति १२:०० बजेसम्म पुर्याइएकाे थियाे ।
पहिलेको भन्दा खुकुलो
निषेधाज्ञा पहिलेको भन्दा खुकुलो बनाइएको छ । अब निषेधाज्ञामा विहान ११ बजेसम्म खाद्यवस्तु, दूध र दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछा/मासु, बिक्री गर्ने पसल खोल्न पाइनेछ । औषधी र पानीको पसल भने दिनभर खोल्न पाइनेछ ।
त्यस्तै विकास निर्माणसँग सम्बन्धित पसल दिउँसो २ देखि राति ९ बजेसम्म खुल्ने भएको छ । छोटो दूरीको ढुवानीका लागि प्रयोग हुने सवारी साधन पनि दिउँसो २ देखि ९ बजेसम्म चल्न पाउनेछन् ।
निषेधाज्ञाको समयमा यसअघि प्रतिबन्ध लगाइएको टेक अवे र उपभोग्य वस्तुको होम डेलिभरी सेवा भने खुला गरिएको छ । होम डेलिभरी सेवाको मापदण्ड भने जिल्ला प्रशासन कार्यालयले छिट्टै जारी गर्नेछन् । होम डेलिभरी र टेक अवे सेवा दिने व्यक्तिको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ हुनुपर्नेछ र उनीहरुले भेटेका व्यक्तिहरुको अभिलेख राख्नुपर्नेछ ।
निषेधाज्ञामा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको निर्माणको काम पनि सञ्चालन गर्न पाइनेछ । तर यस्ता आयोजनाले कामदार र कर्मचारीलाई आयोजनास्थलमै क्वारेन्टिनमा राख्नुपर्नेछ ।
अब अत्यावश्यक कामका लागि काठमाडौं उपत्यका प्रवेशका लागि पीसीआर रिपोर्टमा कोरोना संक्रमण नभएको पुष्टि पनि अनिवार्य गरिएको छ ।
हवाई उडानबाट विदेश जानेहरुले पासपोर्ट, भिसा, स्वीकृत हवाई टिकट हुनेहरु सिधै एयरपोर्ट जाने सवारी साधनलाई पनि चल्न दिनेछ । तर पीसीआर परीक्षण सुविधा नभएको ठाउँबाट आउनेहरुले भने काठमाडौंमा सुरक्षित रुपमा बस्ने स्थानको सुनिश्चितता र सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिस अनिवार्य पेश गर्नुपर्नेछ ।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भदौ ३ गतेदेखि काठमाडौं उपत्यकामा एक हप्ताको लागि निषेधाज्ञा लगाइएको थियो । त्यसपछि भदौ १० देखि १७ सम्म थप गरिएको थियो । तेस्रो पटक फेरि एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको छ ।
हेर्नुहोस् निषेधाज्ञाको आदेश



