काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद पुनर्गठन गरेका छन् ।
प्रधानमन्त्री ओलीले शुक्रबार ५ नयाँ मन्त्री थपेका हुन् । नयाँ मन्त्रीहरुको आजै साँझ शपथ हुने बालुवाटार स्रोतले जानकारी दिएको छ ।
आज टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, दावा लामा र गौरीशंकर चौधरी मन्त्री बन्न लागेका हुन् । जसमा रायमाझी उर्जामन्त्री, शाह श्रममन्त्री र थापा पर्यटनमन्त्री बन्न लागेको बताइएको छ । त्यस्तै लामा शिक्षामन्त्री र चौधरी खानेपानीमन्त्रीको जिम्मेवारी दिइएको छ ।
मन्त्री बनेका प्रभु शाह प्रचण्ड-नेपाल पक्षमा लागेका भएपनि माधवकुमार नेपाललाई अध्यक्ष बनाएपछि असन्तुष्ट व्यक्त गर्दै ओली पक्षमा गएका हुन् ।

यस अघि प्रचण्ड र नेपाल पक्षका ७ जना मन्त्रीले राजीनामा गरेका थिए ।
प्रतिनिधिसभा विघटनपछि प्रचण्ड-नेपाल पक्षका मन्त्रीहरु पर्यटनमन्त्री योगेश भट्टराई, कृषिमन्त्री घनश्याम भुसाल, उर्जामन्त्री बर्षमान पुन, शिक्षामन्त्री गिरिराजमणी पोखरेल, वनमन्त्री शक्ति बस्नेत, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानीमन्त्री विना मगरले राजीनामा दिएका थिए ।
