नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेर आफैलाई पतनतिर धकेलेको टिप्पणी हुन थालेको छ ।
राजनीतिक विश्लेषक तुलानानारायण साहले भने, प्रधानमन्त्री अोलीको यो कदमले देशमा अस्थिरता आउने पक्का भएको छ, अब देशको राजनीति स्थिर रहनेछैन । संसद विघटन सदर–बदर जे भएपनि अहिलेको जस्तो कम्युनिस्ट पार्टी रहने छैन ।’ साहले अहिलेको घटनालाई ‘नेकपाको आन्तरिक द्वन्द्वको विस्फोट’को संज्ञा दिँदै साहले ‘देश नयाँ कोर्षमा प्रवेश गरेको र संसद विघटन भयो भने खेलाडी संख्या थपिने’ टिप्पणी गरे । अहिलेको राजनीतिक रंगमञ्चमा मुख्य शक्तिको रुपमा नेकपा, काँग्रेस र जसपा नेपाल मात्र रहेको उल्लेख गर्दै साहले ‘संसद विघटन भएपछि चुनाव घोषणा नभएसम्म हुने राजनीतिक उतारचढावले अवस्था जे पनि सृजना हुन सक्ने’ बताए ।
प्रधानमन्त्री अोलीले यो कदम किन चाले त्यो कुरा पछि खुल्दै जाला तर यो एउटा अन्तराष्ट्रिय डिजाइन अन्तर्गत भएको हुनुपर्छ भन्ने आशंका गरिन थालिएको छ । स्थिति त्यस्तै हो भने नेपालमा राजनीतिक अस्थिरताको सिर्जना हुने प्रष्ट छ । । देशमा भइरहेका पछिल्ला अन्तराष्ट्रिय चलखेलले अहिलेको स्थिति निम्तिन सक्ने संकेत पहिल्यै देखापरिसकेको थियो भन्ने पनि विश्लेषण भइरहेको छ ।
नाम उल्लेख गर्न नचाहने एक विश्लेषकका अनुसार, पहिलो संविधानसभा विघटन हुँदा जुन परिदृष्य देशमा देखिएको थिया,े त्यही दृश्य पुन दोहोरिनेछ । त्यसबेला पनि अन्तराष्ट्रिय चेलखेलको शिकार संविधानसभा भएको थियो र अहिले पनि संसद त्यस्तै शिकार भएको उनको भनाइ छ ।
अर्का राजनीतिक विश्लेषक चन्द्रकिशोरले पनि ‘ओलीले आफ्नो पतनको बाटो आफैँ अपनाएको’ टिप्पणी गरे । ‘नेकपाले ओलीलाई दण्डित गरेपनि नगरेपनि जनताले अवश्य दण्डित गर्ने’ टिप्पणी गर्दै ‘ जनताले दिएको म्यान्डेट पूरा गर्न नसकेका कारण अब ओलकिो पतन निश्चित भएको’ उनले बताए ।
संसद विघटन भएपछि हुने चुनावले लोकतन्त्रमा कहीँ त कतै असर पर्ने चन्द्रकिशोरको विश्लेषण छ । ‘अब हुने चुनावले लोकतन्त्र नै समाप्त नभए पनि केही अवश्य असर गर्छ,’ उनले भने, ‘लोकतन्त्रको अभ्यास भइरहेकै बेला यस्तो अवस्था आउनु दुखद छ । अहिलेको अवस्थालाई ‘नेकपाको घर झगडाको परिणाम’ बताउँदै चन्द्रकिशोरले ‘ नेकपा अब पुरानै अवस्थामा नआउने पनि यो घटनाले निश्चित गरेको’ बताए । प्रधानमन्त्री ओलीले कार्यकारी अधिकारको दुरुपयोग गरेको उनको ठम्याइ छ ।