पत्नी सीता दाहालको जटिल रोगको उपचारका लागि भारतको आर्थिक राजधानी मुम्बईमा रहेका विभाजित नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल प्रचण्डलाई भारतीय पक्षले औपचारिक भेटघाटका लागि आधिकारिक च्यानलबाट व्यवस्थापन होस् भन्ने सन्देश दिएको छ । काठमाडौंस्थित भारतीय दूतावासका एक अधिकारीले प्रचण्डको पक्षबाट भेटवार्ताका लागि केही इमेल र खबर प्राप्त भए पनि अहिले नेपालको जटिल राजनीतिक अवस्थामा भारत संलग्न हुन नचाहेको बताएका छन् ।
स्रोतका अनुसार प्रचण्ड उच्चस्तरीय भेटघाटको वातावरण मिलेमा दिल्ली जाने तयारीमा थिए । तर यसपटक भारतले नेकपा विभाजन र राजनीतिक संकट गहिरिएका बेला प्रधानमन्त्री केपी ओलीलाई चिढ्याउने गरी प्रचण्डलाई औपचारिक आतिथ्य दिन चाहेन ।
स्रोतले भन्यो–प्रचण्डको पक्षबाट आग्रह भएको हो तर भारत यस मामिलामा ‘स्केप’ हुन खोज्यो । यतिसम्म कि महाराष्ट्रका गभर्नर भगतसिंह कोसियारीले पनि अन्तिममा भेट्न मानेनन् । सत्तारुढ भारतीय जनता पार्टीका पूर्व उपाध्यक्ष र नेपाल मामिलामा मोदीलाई सुझाव दिन सक्ने हैसियत भएकाले प्रचण्डले मुम्बईमा रहेका बेला उनीसँग भेट्न खोजेको हुनुपर्छ ।
केही भारतीय मिडियाले पनि कोसियारी निकट सूत्रलाई उद्धृत गर्दै प्रचण्डसँग गभर्नरले भेट्न नमानेको दाबी गरेका छन् । प्रचण्ड पत्नी सीता दाहालको मुम्बईस्थित ‘न्यूरोगन ब्रे एण्ड स्पाइनल इन्स्टिच्युट’मा उपचार भइरहेको छ ।