काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको आधिकारिकता र चुनाव चिह्न 'सूर्य' माग गर्दै पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले निर्वाचन आयोगमा दिएको निवेदन 'कानुनी रिट नपुगेकाले फिर्ता गरिएको' दाबी गरेका छन् । तर निर्वाचन आयोगका अधिकारी र दाहाल-नेपाल पक्ष नेताले भने उक्त विषयमा कुनै निर्णय नभएको बताएका छन् ।
‘आयोगमा आएका कागजात फिर्ता हुने कुरा हुँदैन, त्यस्तो भएको छैन,’ आयोगका सहायक प्रवक्ता कोमल धमलाले भने ‘आधिकारिकताको कुरा पछि निर्णय हुन्छ।’
अर्को पक्षका नेताहरुले पनि ओलीकाे सो दाबी झूठो भएको बताएका छन्।
प्रवासी नेपाली एकता मञ्चका नेताहरूले बारम्बार सूर्य चुनाव चिह्न आफूहरूको हुनुपर्ने र त्यसले आगामी निर्वाचनमा पार्टीले राम्रो परिणाम ल्याउने भनेपछि ओलीले स्पष्ट पार्नुपर्ने भयो भन्दै निर्वाचन आयोगले दाहाल - नेपाल पक्षलाई सूर्य चिह्न दिन अस्वीकार गरेको बताएका थिए ।
‘उहाँहरु (प्रचण्ड–नेपाल पक्षका नेता) ले निर्वाचन आयोगमा निवेदन दिनुभएको रहेछ तर आयोगले उहाँहरुको निवेदन रित नपुगेको र अनुचित भनेर हिजो रद्द गरेर फिर्ता पठाइदियो,’ प्रधानमन्त्री ओलीले प्रवासी नेपालीहरुसँग भने, ‘आधिकारिक पार्टी हामी हौं भन्ने उहाँहरुको दाबी थियो, हिजो आयोगले यो अंग नपुगेको, व्यहोरा नपुगेको, कानुन उल्लेख नभएको, प्रमाण नभएको यस्तो खालको निवेदनको केहि अर्थ छैन भनेर फिर्ता पठाइदियो।’
उनले आफूहरु चाहिँ निर्वाचन आयोग नगएको र जानुपर्ने आवश्यकतै नभएको दाबी गरे।
‘किनभने हामी आधिकारिक पार्टी हौं, हामीसँगै चिन्ह र बहुमत छ किन जानुपर्यो?,’ उनले भने, ‘चुनावै नलड्नेहरु उहाँहरुलाई सूर्य चिन्ह किन चाहिएछ?’
नेकपाको दाहाल-नेपाल पक्षबाट निर्वाचन आयोगमा कानुनी कुराहरूको नेतृत्व गरिरहेका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले भने प्रधानमन्त्रीको भनाइ झुटो भएको बताएका छन् ।
पोखरेलले झुठ कुरा गरेर प्रधानमन्त्रीले पराजित मानसिकता देखाएको टिप्पणी गरे।
उनले बिहीबार मात्रै निर्वाचन आयोगले सम्पर्क गर्नुपर्ने नेताहरूको नामावली बुझाएर आफूहरू फर्किएको हुँदा प्रधानमन्त्री ओलीले गलत बोलेको बताए । 'निर्वाचन आयोगले फिर्ता होइन केही पनि पठाएको छैन । प्रधानमन्त्रीले झुट बोल्नुभयो ।
हिजै निर्वाचन आयोगमा हामीले अनुसूची १८ अन्तर्गतको विवरण बुझाएका छौं । नाम, झन्डा, पदाधिकारीको नामावली फेरबदल भएको भए अपडेट गर्ने भन्ने छ त्यसका लागि हामीले सूचना दिन गएका थियौं ।
पार्टी अध्यक्षबाट ओलीलाई हटाएर केन्द्रीय सदस्य कायम राख्दै माधवकुमार नेपाललाई अध्यक्ष चुनिएको कुरा अपडेट गरेका छौं,' उनले भने, 'हामी सूचना दिएर फर्कियौं । हामी त्यहाँ रातभर बस्ने त कुरा हुँदैन । हामी फर्केकोलाई फर्काएको रूपमा बुझेको भए केही भन्नु छैन ।'
निर्वाचन आयोगले पार्टीको आधिकारिकता लगायतका विषयमा छलफल गर्नुपर्ने भए पोखरेल, राजेन्द्र पाण्डे, मुक्ति प्रधान, कृष्णभक्त पोखरेल लगायत ८ जनाको नाम बुझाइएको उनले जानकारी दिए ।

