प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी छोडेर हिँडेका भगौडाको कुरा नसुन्न आम सर्वसाधारणलाई आग्रह गरेका छन्।
नेकपा ओली समुहले शुक्रबार धनगढीमा आयोजित सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड-माधव समुहलाई ब्यंग्य गर्दै भने- 'बाटोमा बसेर हामी यहाँ छौ लेखेको व्यानर टास्ने, पार्टीको बैठकमा नआउने, सभ्यता नभएकाहरु।'
‘तपाईँले पार्टी छोडेर हिँडेका, गाली गर्दै हिँडेका केही भगौडाको कुरा सुन्नु भएको होला। त्यो कुरासँग प्रभावित हुनुपर्ने कुनै कारण छैन’, उनले भने, ‘केन्द्रीय कमिटीको बैठकमा नआएर अन्यत्र-अन्यत्र भागेर हामी यहाँ छौं भन्दै हिड्नेको कुरा सुन्नु पर्दैंन।’
उनले उनीहरू बैठकमा नआएर कहाँ गए भन्दै हेरेको त बाटामा बसेर हामी यहाँ छौं पो भनिरहेका छन् भनेर प्रचण्ड-नेपाल समूहको व्यङ्ग्य गरेका छन्।
‘पार्टी केन्द्रीय कमिटीको बैठकमा नगएर सडकमा गएर गाली गलौज गरेर, मुख छाडेर पत्र पत्रिकामा लेखाएर सभ्यता केही छैन’, उनले भने, ‘प्रचण्ड र माधव नेपाल अघि अघि लागेका जुलुसमा सँगै अश्लिल गालीका नाराहरू लाग्छन्।
प्रचण्ड- नेपाल समूह गाली गलौजमा उत्रिएको भन्दै प्रधानमन्त्री ओलीले आफूलाई दन्त मझान गर्न आवश्य नरहेको बताए।
‘हामीलाई गाली गलौज गर्ने फुर्सद छैन। देश बनाउन हिँडेका छौं। उहाँहरूसँग दन्तमझान गर्ने फुर्सद छैन,’ उनले भने।