दैनिक ५ सय जना पोखरामा प्याराग्लाइडिङ गर्दै


दैनिक ५ सय जना पोखरामा प्याराग्लाइडिङ गर्दै

पोखरा-कोरोनाले गर्दा यति बेला पोखराको पर्यटनका क्षेत्र प्रभावित भए पनि अधिकांश प्याराग्लाइडिङ कम्पनीमा भने निकै भिडभाड हुन थालेको छ । करिब ६ महिना कोरोनाले गर्दा ठप्प भएको प्याराग्लाइडिङ व्यवसाय विशेष छुटमा ७ हजारको प्याकेज ३ हजारमै उपलब्ध भए पछि यति वबला प्याराग्लाइडिङ कम्पनीमा आन्तरिक पर्यटकको भिडभाड ह्वात्तै बढेको व्यवसायीहरु बताउँछन् ।

पोखरामा रहेका ६० वटा प्याराग्लाइडिङ कम्पनीमध्ये अधिकांश कम्पनीमा हिजो आज दसैंको अवसरमा केही आन्तरिक पर्यटकहरु भ्रमणमा निस्किएसँगै र पोखरा क्षेत्रका पर्यटकहरुले सहुलियत दरमा प्याराग्लाइडिङ गर्न पाए पछि हाल कम्पनीमा बिहानैदेखि बेलुकासम्म भिडभाड हुन थालेको फ्लाइङ प्याराग्लाइडिङ कम्पनीका सञ्चालक एवं प्याराग्लाइडिङ पाइलट हरि गिरीले बताए ।
कोरोनाले गर्दा आर्थिक समस्या सबैमा परेकोले अहिलेको अवस्थामा ७ हजारको प्याकेज ३ हजारमै उपलब्ध गराउँदा हाल आफूहरुको ५ दिनसम्म अग्रिम टिकट बुकिङ भएको उनले दाबी गरे । उनले भने, “पर्यटनको सिजनमा पनि यस्तो अग्रिम टिकट बुकिङ भएको थिएन तर, छुट उपलब्ध गराएपछि कोरोनाले गर्दा घरमै बसेका धेरै पर्यटकहरु प्याराग्लाइडिङतर्फ आकर्षित भएका छन् ।”

विभिन्न देशका पर्यटकहरु पोखराको आकासमा उड्दा आफूलाई पनि उड्न मन लागेपछि पहिलो पटक प्याराग्लाइडिङ गरेको पोखराकी सविता सुवेदीले बताइन् । सुवेदी जस्तै पोखराकी गरीमा पौडेल पनि शनिबार पोखराको आकासमा प्याराग्लाईडिङ गर्दै निकै रमाइलो भएको अनुभव सुनाइन् । त्यसो त गण्डकी प्रदेशसभा सदस्य रामजी प्रसाद बराल (जीवन) पनि प्याराग्लाइडिङ गरे । पोखराको प्याराग्लाइडिङ व्यवसाय एवं सहासिक खेललाई जिवन्त राख्न आफ्नो ठाँउबाट विशेष पहल गर्ने उनले बताए । फ्लाइङ बुद्ध प्याराग्लाइडिङ कम्पनीबाट प्याराग्लाइडिङ पाइलट एवं प्रशिक्षक बालु बसेलले सांसद बराललाई सराङकोटदेखि खपौंदीसम्मको क्षेत्रमा करिब २५ मिनेट प्याराग्लाइडिङ गराएका थिए । यतिबेला मौसमले पनि साथ दिएकोले गर्दा माछापुच्छ«ेसहितका हिमश्रृखला खुलेसँगै आन्तरिक पर्यटकहरुले प्याराग्लाइडिङ गर्दा निकै रमाएका छन् ।

हाल दैनिक ५ सय जनाले प्याराग्लाइडिङ गर्ने गरेको अध्यक्ष भण्डारीले दाबी गरे । विहान १० बजेदेखि दिउँसो तीन बजेसम्मको लागि पोखराको आकासमा प्याराग्लाइडिङ उडान गर्न आफूहरुले मान्यता दिने गरेको उनले जनाए । पोखरा १८ को सराङकोटका तीन ठाँउबाट र तोरीपानीबाट उडान भरी प्याराग्लाइडिङ पाइलटले पोखराको खपौंदी, इन अफ द लेक, वाटरफन्ट रिसोर्ट अगाडीको चौर र चंखपुरमा समेत अवतरण(ल्याङडीङ) गर्ने गरेका छन् । पोखरामा हाल ३ सय ३८ जना पाइलट भए पनि २ सय ५० जनाले टेण्डम फ्लाइट गर्ने गरेको अध्यक्ष भण्डारीले जनाए ।

प्याराग्लाइडिङले गर्दा हाल पोखरामा पर्यटकीय गतिविधि थोरै भए पछि चलायमान भएको उनले दाबी गरे । असोज १ गतेदेखि हवाई उडान सञ्चालनको अनुमति दिएसँगै प्याराग्लाइडिङ खेल समेत सञ्चालनमा आएको हो । पोखरामा ६० वटा प्याराग्लाइडिङ कम्पनीहरु रहेका छन् । त्यसै गरी पोखरामा सोलो प्रशिक्षण गर्दै गरेका करिब ६० जना प्याराग्लाइडिङ पाइलटरहरु रहेका छन् । कोरोनाको कहरका बाबजुत आवश्यक स्वास्थ्य मापदण्ड सकभर पालना गर्ने गराउने गरेको पाइलट तथा कम्पनीहरुले जनाएका छन् ।

#


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...