पार्टनर भिसामा अस्ट्रेलिया जान अंग्रेजी भाषा परीक्षा पास गर्नै पर्ने तयारी


पार्टनर भिसामा अस्ट्रेलिया जान अंग्रेजी भाषा परीक्षा पास गर्नै पर्ने तयारी

अस्ट्रेलियाले आफ्नो मुलुकका बासिन्दासँग विवाह गरी (पार्टनर भिसामा) आउन चाहने मानिसका लागि अंग्रेजी भाषा परीक्षा अनिवार्य पास गर्नु पर्ने तयारी गरेको छ । यो विवादित नियम संसदबाट पारित भएको अवस्थामा सन् २०२१ को मध्यदेखि अस्ट्रेलियामा पार्टनर भिसामा जान चाहने मानिसहरुले अनिवार्य अंग्रेजी भाषा परीक्षा पास गर्नुपर्ने हुन्छ ।

अहिले प्रस्ताव गरिएको यो नियमले पार्टनर भिसाको आवेदन दिने व्यक्तिको पार्टनरले पनि अंग्रेजीमा आफ्नो दक्षता साबित गर्नुपर्ने हुन्छ । आलोचकहरुले सरकारले अघि सारेको यो नियमलाई विभेदपूर्ण रहेको बताएका छन् । साथै उनीहरुले गैर–पश्चिमा मुलुकहरुका नागरिक र उनीहरुको परिवारलाई विभेद हुने गरी यो नियम ल्याइएको बताएका छन् । सरकारले भने सामाजिक सौहार्दताका लागि यो नियम आवश्यक रहेको बताएको छ ।

अस्ट्रेलियाका आप्रवासन मन्त्री एलन टुड्जले अस्ट्रेलिया पार्टनर भिसामा आउन चाहने मानिसले आधारभूत अंग्रेजी जान्नुपर्ने वा अंग्रेजी जान्नका लागि उचित प्रयास गरेको हुनुपर्ने व्यवस्था गरिएको बताएका छन् ।

अहिले अस्ट्रेलियामा काम गर्न र अध्ययन गर्न चाहनेका लागि मात्र अंग्रेजी भाषाको परीक्षण अनिवार्य गरिएको थियो । अस्ट्रेलियाको नागरिकता लिन भने अंग्रेजी भाषाको परीक्षणमा उत्तीर्ण हुनुपर्ने व्यवस्था गरिएको थियो ।

अस्ट्रेलियामा करिब २० प्रतिशत मानिसहरु घरभित्र अंग्रेजी बोल्दैनन् । सिड्नी, मेलबर्नजस्ता ठूला सहरमा भने यो संख्या ३५ प्रतिशतभन्दा धेरै छ । आप्रवासन मन्त्री टुड्जका अनुसार अहिले अस्ट्रेलियामा करिब १० लाख मानिस राम्रोसँग अंग्रेजी बोल्न जान्दैनन् । जसका कारण उनीहरुलाई काम सामाजिक गतिविधिको पहुँच सीमित बनेको उनको भनाइ छ ।

उनका अनुसार यो नियमले आफ्ना पार्टनरलाई नियन्त्रणमा राख्ने वा शोषण गर्नेजस्ता कार्य रोक्न पनि यसले सहयोग पुग्नेछ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले भने अस्थायी भिसामा अंग्रेजी परीक्षणको कक्षा पास नगरी आए पनि उनीहरुले अस्ट्रेलियामा अनिवार्यरुपमा अंग्रेजी कक्षा लिनुपर्ने बताएका छन् । अन्यथा उनीहरुले स्थायी बसोबासको अनुमति पाउने छैनन् ।

स्रोत : बीबीसी


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...