करेक्सन र केही दिनको सुस्ततापछि सेयर बजारमा फेरि रौनकता सुरु भएको छ । नेप्से सूचक फेरि मज्जाले जम्प गर्न थालेको छ । कारोबार रकममा पनि क्रमशः तेजी आउनेक्रम सुरु भएको छ । नेप्से सूचक आइतबार फेरि २००० हजार विन्दुमाथि प्रवेश गरेको छ । सूचकले आम लगानीकर्ताको मनोवैज्ञानिक प्रभाव पार्ने २००० हजार विन्दुलाई फेरि सजिलै क्रस गरेपछि बजारमा थप उत्साह बढेको हो । नेप्सेले यसअघि २११७ आसपासको विन्दुलाई टेस्ट गरेर फर्किएको हो ।
छोटो समयमा राम्रै करेक्सन आएकाले बजारले अब फेरि आफ्नो नयाँ उचाईको यात्रा तय गर्ने विश्लेषणहरु भइरहेका छन् । करेक्सनपछि बढेको बजार अझ बलियो हुने विश्लेषकहरु बताउँछन् । नेप्सेले यसअघिको अल टाइम हाइ १८८१ लाई सजिलै पार गरेर नयाँ ऐतिहासिक विन्दुतिर अघि बढिरहेको छ । आम लगानीकर्ताको निकै उच्च मनोबल देखिएको छ । हाम्रो बजार जहिले पनि चक्रीय प्रणालीमा अघि बढिरहेको छ । यसबीचमा नेप्सेले ४ वर्ष लामो वियरिस यात्रा पार गरिसकेको छ ।

सोही कारण पनि अब बुलिस प्रवृत्तिमा बजार अघि बढेको विश्लेषणहरु हुन थालेको छ । आइतबार वाणिज्य बैंक, बिमा, उत्पादनमूलकलगायतका समूहमा तेजी आएको छ । वित्तीय प्रणालीमा अधिक तरलता अनि सस्तो ब्याजदरले सेयर बजार वृद्धिमा निकै राम्रो भूमिका खेलिरहेको देखिन्छ । बैंकहरुले पनि सहज तरिकाले सेयर कर्जा प्रवाह गरिरहेका छन् । तर अगुवा लगानीकर्ताहरु बजार बढ्दा वा घट्दासमेत नेप्से सूचकलाई मात्र आधार नबनाउन सुझाव दिने गर्छन् ।
समग्रमा नेप्से सूचकको प्रवृत्ति महत्वपूर्ण भए पनि विशेष गरेर आफूले लगानी गरकै कम्पनीमा बढी ध्यान दिनुपर्छ । लगानी गर्ने कम्पनीको समग्र अवस्था जस्तो, नाफा, रिजर्भ, प्रतिसेयर आम्दानी, कम्पनी सञ्चालक, व्यवस्थापक अनि भविष्यमा कम्पनीको योजना लगायतलाई ख्याल गर्न आवश्यक हुन्छ । साथै, लगानीकर्ताले होल्ड गर्न सक्ने अवधिमा पनि विचार पुर्याउनुपर्छ । जोखिम बहन क्षमतालाई पनि ख्याल गर्न आवश्यक हुन्छ ।नेप्से सूचक ४६.४३ अंकले बढेर २०१०.४५ विन्दुमा आइपुगेको छ । कुल २०३ कम्पनीको ४ अर्ब ८९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ९० लाख ५० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३ समूहबाहेक बाँकी सबै समूहमा तेजी आएको छ । उत्पादनमूलक समूह सबैभन्दा बढीले वृद्धि भएको छ । यसैगरी, जीवन बिमा, निर्जीवन बिमा, विकास बैंक तथा वाणिज्य बैंक समूहहरुमा पनि तेजी आएको छ ।