क्याटलान क्लब बार्सिलोनाका ब्राजिलियन प्ले मेकर फिलिपे कौटिन्हो लामो समय मैदान बाहिर रहने भएका छन् । मंगलबार राति एयपरविरुद्ध बार्सिलोनाले १–१ गोलको बराबरी खेल्दा कौटिन्होले ६६ औं मिनेटमा चोट बोक्दै मैदानबाट बाहिरिएका थिए ।
कौटिन्होको परिक्षण गर्दा ल्याटेरल मिनिस्कसमा क्षति पुगेको छ । जसले गर्दा शल्यक्रिया नै गर्नपर्ने हुन्छ । कौटिन्हो के कति समय मैदानबाहिर रहने विषयमा केहि जानकारी नआए पनि उनी कम्तीमा पनि चार महिना मैदानबाहिर रहने पक्काजस्तै छ । बार्सिलोनाले यसको पुष्टि गर्दै कौटिन्हो लामो समय मैदान बाहिर रहन सक्ने जनाएको छ । उसले एक बिज्ञप्ति निकाल्दै भनेको छ, ‘हामीले हाम्रो टोलीको पहिलो रोजाईका खेलाडी फिलिपे कौटिन्हो परिक्षण गरेका छौं ।
एमआरआई गर्दा उनको बायाँ घुँडाको मिनिस्कस च्यातिएको छ । उनको उपचारको लागि अब उनले अर्थाेस्कोपिक शल्यक्रिया गर्न पर्ने हुन्छ । निकट भविश्यमा नै उनको शल्यक्रिया हुनेछ ।’ यसअघि अन्सु फाती, सर्जियो रोबर्टो र जेरार्ड पिके चोटका कारण खेल्ने अवस्थामा नभएको समयमा कौटिन्होको चोट बार्सिलोना प्रशिक्षक रोनाल्ड कोम्यानको टाउको दुखाइको विषय बनेको छ ।
यस सिजन जर्मन क्लब बायर्न म्युनिखबाट लोनमा फर्किएका कौटिन्होले जारी सिजन बार्सिलोनाको लागि १४ खेल खेल्दै तीन गोल र दुई असिस्ट दिएका छन् ।