प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो जित दर्ता गरेको छ । उसले सोमबारको खेलमा प्रदेश–१ माथि २ विकेटको जित हात पारेको हो ।
प्रदेश–१ ले दिएको १०३ रनको लक्ष्य गण्डकीले ३७ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । गण्डकीका लागि अर्जुन कुमाल र दीपक डुम्रेले समान ३५–३५ रनको योगदान दिए । अभिषेक थापाले अविजित १३ रन बनाउँदा अन्य ब्याट्म्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
प्रदेश–१ का लागि मनीष थापा र शुभान्कर उराउले समान २–२ विकेट लिँदा दिपेश कँडेल र हेमन्त राईले समान १–१ विकेट हात पारे । २ विकेट रन आउटका रूपमा प्राप्त भयो ।
थापाले ७ ओभरमा ३ मेडन राख्दै १५, उराउले १० ओभरमा २ मेडनसहित २५, कँडेलले ८ ओभरमा ३ मेडन राख्दै १५ र राईले ६ ओभरमा १ मेडन राख्दै १६ रन खर्चिए ।
टस जितेर ब्याटिङ रोजेको प्रदेश–१ ले २७.४ ओभरमा सबै विकेट गुमाउँदै १०२ रनको योगफल तयार पारेको थियो ।
प्रदेश–१ का लागि कुनै पनि ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । कप्तान सिद्धान्त लोहनीले सर्वाधिक २४ रनको योगदान दिए । मनीष थापाले २२, शुभान्कर र उराउले १२, दीपक पासवानले ११ र दीपेश कँडेलले १० दिन प्रहार गर्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
प्रदेश–१ को पारी ध्वस्त बनाउने क्रममा सुवास भण्डारी र विशाल पौडेलले ह्याट्रिकसहित समान ४–४ र कप्तान विपिन खत्रीले २ विकेट लिए ।
प्रतियोगिताको पहिलो ह्याट्रिक लिने क्रममा २७.२ ओभरमा राजन मगरलाई व्यक्तिगत ४ रनमा राहुल उपाध्यायको हातबाट क्याच आउट गएका विशालले २७.३ ओभरमा मनोज तामाङ र २७.४ ओभरमा हेमन्त राईलाई शून्य रनमा एबिडब्ल्युको सिकार बनाए ।
भण्डारीले ७ ओभरमा ४ मेडन राख्दै १८, पौडेलले ६.४ ओभरमा २५ र खत्रीले १० ओभरमा २ मेडनसहित ३४ रन खर्चिए ।
गण्डकीले पहिलो खेलमा नेपाल आर्मी क्लबसँग ९९ र प्रदेश–१ ले नेपाल एपिएफ क्लबसँग १३५ रनको पराजय बेहोरेका थिए ।