काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ।
मंगलबार सर्वोच्च अदालत प्रशासनमा ओलीविरुद्ध अदालतको अवहेलनाको दुईवटा मुद्दा दर्ता भएको हो । वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले छुट्टाछुट्टै अवहेलना मुद्दा दर्ता गराएका हुन् ।
प्रतिनिधिसभा विघटन विरुद्ध अदालतमा विचाराधीन मुद्दामा अदालत तथा वरिष्ठ अधिवक्ताहरुको प्रधानमन्त्रीले मानमर्दन गरेको भन्दै मुद्दा दर्ता गरिएको हो।
प्रधानमन्त्री ओलीले माघ ९ गते काठमाडौंको कार्की ब्याङ्केटमा भएको कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा बहस गरेको विषयमा निन्दायुक्त टिप्पणी गरेको उनीहरुको जिकिर छ । त्यतिबेला प्रधानमन्त्रीले ‘एक जना बाजे वकिललाई सर्वोच्च लगेर तमासा देखाएछन्’ भन्ने टिप्पणी गरेका थिए ।
सर्वोच्च अदालतमा बहस गर्ने अधिवक्तालाई प्रधानमन्त्रीले दुर्मुखा एवम् वकिलले कुरा फिटेका फिट्यै छन् जस्ता शब्द प्रयोग गरेको उल्लेख छ।
ओलीमाथि न्याय परिषद् ऐन २०७३ को दफा १७ अनुसार हदैसम्मको सजाय माग गरेका छन् । आचार्य गत आइतबार र न्यौपाने सोमबार सर्वोच्च पुगेका थिए । तर सर्वोच्च प्रशासनले अध्ययन गर्ने भन्दै यसअघि दर्ता गरेको थिएन ।