एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा पीएसजी सेन्ट इटिनेसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
नवनियुक्त मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोको पहिलो खेलमा पीएसजीले बराबरी खेलेको हो ।लिगमा खराब प्रदर्शन गरेपछि क्लबले थोमस टुचेललाई बर्खास्त गर्दै पोचेटिनोलाई टिमको जिम्मेवारी सुम्पिएको थियो ।
तर, पोचेटिनोको पहिलो खेलमा पीएसजी जित निकाल्न असफल भयो । खेलको १९ औं मिनेटमा रोमैन हामौमाले गोल गर्दै इटिनेलाई अग्रता दिलाएका थिए ।
तर, खेलको २२ औं मिनेटमा मोइस किनले गोल गर्दै पीएसजीलाई हारबाट जोगाए । बराबरीमा रोकिएपनि पीएसजी लिगको दोस्रो स्थानमा भने उक्लिएको छ ।
पीएसजीले १८ खेलमा ३६ अंक जोडेको छ । लिगको शीर्ष स्थानमा ३९ अंक जोडेको लियोन रहेको छ ।
इटिने १९ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।