प्रदेश १ लाई आगामी ५ वर्षभित्रमा बालविवाहमुक्त प्रदेश बनाईने


प्रदेश १ लाई आगामी ५ वर्षभित्रमा बालविवाहमुक्त प्रदेश बनाईने

विराटनगर । भदौ २९
प्रदेश १ लाई आगामी ५ वर्षभित्रमा बालविवाहमुक्त प्रदेश बनाईने तयारी भएको छ । ५ बर्षभित्र प्रदेशभर बालविवाहमुक्त प्रदेश निर्माणका लागि सरकारले तयारी सुरु गरिसकेको मुख्यमन्त्री शेरधन राईले बताएका छन्।

सोमबार राष्ट्रिय बालदिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले तयार गरेको बालबालिकाको स्थिति प्रतिवेदन सोमबार सार्वजनिक गर्दै मुख्यमन्त्री राईले सन् २०२५ भित्र प्रदेश बालविवाह मुक्त हुने कुरामा ढुक्क रहन सबैलाई आग्रह गरेका छन्।

बालविवाह निर्मूल गर्नका लागि सबै निकाय जिम्मेबार रहनेभन्दै मुख्यमन्त्री राईले बालविवाहमुक्त प्रदेश निर्माण गरिने जिकिर गरे । प्रदेशका सामाजिक संघ संस्था, सरोकारवाला व्यक्ति, सबै स्थानीय तह तथा नागरिकहरू सबैको सहभागिता आवश्यक रहेको औंल्याउदै प्रदेशका सबै क्षेत्रलाई बाल अधिकारका पक्षमा काम गर्न आग्रह गरेका हुन्।

सो कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर रानाले पहिलेभन्दा बालबालिकाको अवस्था सुधार हुँदै गएको र यसलाई अझ बढाउनुपर्ने बताएका छन् । रानाले बालबालिकालाई बेचबिखन, श्रम शोषण तथा बालविवाहमा बाध्य पारिनु दुःखद् रहेको बताउँदै यसलाई सबै मिलेर हटाउन अग्रसर हुनुपर्ने बताए ।

प्रदेशकी सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सडकमा बालबालिकाहरू बस्नुपर्ने अवस्थाको अन्त्य गरी उनीहरूको संरक्षणका लागि कदम चालिने बताइन् । प्रदेशभित्रका सबै सडक बालबालिकालाई उद्धार गर्ने काम भईरहेको र  प्रदेश १ का ५३ जना सडक बालबालिकाको उद्धार गरिसकिएको जानकारी दिइन्।

सोही मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले नेपालभरको जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार प्रदेशभर  ५१ दशमलव ८ प्रतिशत बालिका तथा २१ दशमलव ७ प्रतिशत बालकहरूको २० वर्षभन्दा कम उमेरमै विवाह हुने गरेको तथ्याङ्क रहेको बताउँदै यसलाई कम गर्न मन्त्रालयले काम गरिरहेको बताए। साथै कार्कीले प्रदेश १ भित्र ३७ दशमलव ४ प्रतिशत बालबालिका श्रम गरिरहेको बताएका छन्।

बालश्रम शोषण तथा बालविवाहका रोकथामका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै कानून कडा बनाएर अघि बढ्नुपर्ने कार्यक्रममा सहभागीहरूले जोड दिए। प्रदेश १ मा अन्य प्रदेशका तुलनामा विद्यालयीय पहुँचमा बालबालिकाहरू उल्लेख्य रूपमा रहेको जनाइएको छ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...