काठमाण्डौ | प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरू माथिको सुनुवाइ बुधवार हेर्दाहेर्दैमा राखेर अर्को पेशी शुक्रवारका लागि तोकिएर सकिएको छ ।
बुधवारको सुनुवाइमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरूलाई संवैधानिक इजलासमै सुनवाइ गर्ने कि वृहत् पूर्ण इजलासमा लैजाने भन्नेमा बहस भएको थियो ।
रिट निवेदक पक्षका वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूले विगतको नजिर र गम्भीर संवैधानिक व्याख्या गर्नुपर्ने भन्दै प्रतिनिधि सभा विघटनविरुद्धका रिटहरूलाई वृहत् पूर्ण इजलासमा लैजानुपर्ने माग गरेका थिए ।
प्रतिवादी पक्षका तर्फबाट महान्यायाधीवक्ता अग्नि खरेलले भने संवैधानिक इजलासमै सुनुवाइ गर्नुपर्ने जिकिर पेश गरेका छन् ।
बुधवारको सुनुवाइका लागि गठन भएको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका अलावा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।