durbar-times

चीनबाट अक्सिजन सिलिन्डर ल्याउनै समस्या, वाइडबडीले एउटा उडानमा चार सय सिलिन्डर मात्रै बोक्ने


चीनबाट अक्सिजन सिलिन्डर ल्याउनै समस्या, वाइडबडीले एउटा उडानमा चार सय सिलिन्डर मात्रै बोक्ने

चीनले नेपाललाई सहयोग स्वरुप दिने अक्सिजन सिलिन्डर नेपाल ल्याउन समस्या देखिएको छ  ।

चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर सहयोग गर्ने भनेकोमा पहिलो चरणमा तीन हजार पाँच सय थान सिलिन्डर दिने पक्का भइसकेको छ । तर यी सिलिन्डर नेपालमा ल्याउन समस्या भएको छ ।

विशेषगरी सिलिन्डर ओसार्न ठूला र धेरै तौल भएका सामान ओसार्ने कार्गो जहाजको आवश्यकता पर्ने भएकाले ढुवानीमा समस्या देखिएको हो । नेपालकै जहाज पठाएर खेप/खेपमा सिलिन्डर ल्याउने या चीनकै कार्गो जहाजलाई भाडा तिरेर एकै पटकमा अलि धेरै सिलिन्डर ल्याउने भन्ने विषय टुङ्गो लागेको छैन ।

'हामीले सिलिन्डर सहयोगको विषय टुङ्ग्याउने हो, जहाजको विषयमा स्वास्थ्य मन्त्रालयले पर्यटन मन्त्रालयसँग समन्वय गरेर कुरा मिलाउँछ, उनीहरुले तयारी गर्दै छन् होला, सायद याे हप्ताभित्र अक्सिजन सिलिन्डर आइपुग्ला’ मन्त्री ज्ञवालीले भने । तर स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले सिलिन्डर ल्याउने सबै चाँजोपाँजो मिलाउने मन्त्रालय परराष्ट्र मन्त्रालय नै भएको जानकारी दिए ।

‘यो विषयमा मलाई भन्दा धेरै परराष्ट्र मन्त्रालयलाई नै थाहा छ, हामीले यहाँको अवस्था बताइसकेका छौँ,  स्वास्थ्यले जहाजको विषयमा कुरा गर्दैन, यो परराष्ट्र या पर्यटन मन्त्रालयले नै गर्ने कुरा हो’ मन्त्री त्रिपाठीले भने ।

नेपाली जहाज भन्दा चिनियाँ कार्गो जहाजबाट सिलिन्डर ल्याउँदा सस्तो पर्ने भएकाले उतैबाट जहाज ल्याउने विषयमा कुरा भइरहेको सङ्केत आफूले पाएको स्वास्थ्यमन्त्री त्रिपाठीको भनाइ छ ।

वाइडबडी चीन जाने सम्भावना, एकपटकमा चार सय सिलिन्डर मात्रै ल्याउन सक्ने

तत्कालका लागि चार सय थान अक्सिजन सिलिन्डर ल्याउन नेपाल एअरलाइन्सको जहाज चीन पठाउने तयारी सुरु भएको छ ।

अत्यावश्यक भइसकेकाले सुरुको चरणमा सिलिन्डर ल्याउन वाइडबडी जहाज चीन पठाउने विषयमा अर्थ मन्त्रालयले नेपाल वायुसेवा निगमसँग दररेटको प्रस्ताव मागेको छ । मन्त्रालयको आग्रह अनुसार आफूहरुले वाइडबडीको दररेट बुझाएको निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए ।

‘हामीले दररेट बुझाएका छौँ, मन्त्रालयले जवाफ दिएपछि हामीले तयारी गर्छौँ ’ पौडेलले भने । वाइडबडीले एक पटकमा जम्मा चार सय सिलिन्डर बोक्न सक्छ । अक्सिजन सिलिन्डरले धेरै ठाउँ नओगट्ने तर गह्रौँ हुनेभएकाले कार्गो जहाज र नेपाल एअरलाइन्सको वाइडबडीमा ल्याउनुमा खासै फरक नहुने पौडेलको भनाइ छ।

‘एउटा खाली सिलिन्डर नै ७० किलो हुँदो रहेछ, त्यसैले एकपटकमा चार सय सिलिन्डर मात्रै ल्याउन सकिने रहेछ, कार्गो जहाजमा ल्याउनु र हाम्रोमा ल्याउनु खासै फरक छैन, सरकारले जिम्मेवारी दिएमा ल्याउन तयार छौँ ’ पौडेलले भने ।

1

गोकर्णप्रसाद ढुङ्गेलले लेखेका शब्द २४ वर्षपछि लघु गीतका रूपमा सार्वजनिक

2

२४ घण्टामा ३ हजार ९९४ जना संक्रमण मुक्त

3

३८ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

4

यूरो कप आज आइतबार विभिन्न तीन खेल हुँदै

5

लुकाकुको दुईगोलमा बेल्जियमको जित , गोल क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित

6

सुनको मूल्यमा गिरावट


Share Tweet Send