काठमाण्डौ | नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले पार्टी विभाजनको कोशिश गरेपनि आफूहरूले अहिले पनि एकताको कोशिश गरिरहेको बताएका छन् ।
उनले कांग्रेस पहिलो पार्टी हुन्छ र पछिपछि हुन्छौं भन्ने खालको रुञ्चे अभिव्यक्ति नदिन प्रचण्डलाई सुझाव पनि दिए ।
प्रदेश नम्बर २ का अगुवा नेता कार्यकर्तालाई बुधवार वीरगञ्जमा सम्बोधन गर्दै प्रचण्डलाई दिइएको कार्यकारी अधिकारको हैसियत खोसे पनि अध्यक्षबाट नहटाइएको उनले स्पष्ट पारे ।
महासचिव पौडेलले यसबीचमा गरेका गल्ती सच्याएर मूल पार्टीमा फर्किन आग्रह गरेका हुन् ।
‘एउटा टेलिभिजन अन्तर्वार्तामा प्रचण्डले कांग्रेस पहिलो पार्टी बन्छ, हामी प्रमुख पछिपछि हुन्छौं भन्नुभएको सुनें । यस्तो खालको रुञ्चे अभिव्यक्तिका लागि किन पार्टी विभाजन गरेको ? यही पार्टीभित्र अनुशासित भएर आफ्नो र देशको भविष्य देखेको भए, कांग्रेस पहिलो हुन्छ भन्नु पर्ने दिन आउँथ्यो ?’ पौडेलले भने ।
महासचिव पौडेलले प्रतिनिधि सभा विघटन प्रधानमन्त्री केपी शर्मा ओलीका लागि बाध्यकारी कदम भएको उल्लेख गर्दै पुनःस्थापना भन्दै सडक आन्दोलन गर्नुको औचित्य नभएको बताए ।