राष्ट्रिय महिला फुटबल लिगमा वालिङ नगरपालिकाले पहिलो जित दर्ता गरेको छ।
चौथो चरण अन्तर्गत आज भएको खेलमा वालिङले चौदन्दिगढि नगरपालिका माथि १०-० गोलको जित हात पारेको हो।
वालिङको जितमा क्यामरुनी स्ट्राइकर मिथो रुथले दोहोरो ह्याटि्रक गरिन। रुथले खेलको छैटौं, सातौं, १७औं, ६३औं, ६८औं र ८८औं मिनेटमा गरि कुल ६ गोल गरेकी थिइन्।
यस्तै सम्झना शर्माले ७७औं र ७९औं मिनेटमा दुई गोल गरिन। मनमाया दमाई (३१’) र चौटा वर्नेला (४९’) को नाममा एक-एक गोल रह्यो।
यस् जितसँगै ४ खेलबाट ५ अंकका साथ वालिङ तालिकाको तेस्रो स्थानमा उक्लेको छ।
यता ३ खेलमा शतप्रतिशत हार बेहोरेको चौदन्दिगढि भने शुन्य अंकका साथ तालिकाको पुच्छर (सातौं) मा रहेको छ।
त्यस्तै , आजनै भएको अर्को खेलमा विभागीय टिम सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) ले महत्त्वपूर्ण जित हात पारेको छ।
लिगको चौथो चरण अन्तर्गत एपीएफले आज अर्को विभागीय क्लब नेपाल पुलिसलाई ३-० गोलले पराजित गरेको हो।
पुलिस विरुद्ध एपीएफलाई जित दिलाउन सावित्रा भण्डारीले लिगको व्यक्तिगत तेस्रो ह्याटि्रक गरिन। उनले खेलको ३२औं, ५७औं र ८४औं मिनेटमा गोल गर्दै आफ्नो ह्याटि्रक पूरा गरेकी थिइन्। हालसम्म ४ खेलमा शतप्रतिशत जित निकालेको एपीएफको खातामा १२ अंक रहेको छ।
एपीएफ दोस्रो स्थानको पुलिसभन्दा ७ अंक अघि रहेको छ। यता पुलिस भने ४ खेलमा २ बराबरी, १ जित र १ हार बेहोर्दै ५ अंकका साथ तालिकाको दोस्रो स्थानमा यथावत छ।