काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समयमा देशभर भइरहेका संविधानविरोधी र हिंसात्मक गतिविधिको विरोधमा जुट्न गणतन्त्र इतर सबै दल एक हुनुपर्ने बताएका छन्।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले संविधानविरोधी र हिंसात्मक गतिविधिको विरोधमा एकजुट हुन सबैमा आग्रह गरेका हुन्।
केही समययता राजवादीहरुले काठमाडौंलगायतका प्रमुख सहरहरुमा अन्दोलन जारी राखेका छन् भने अर्कोतिर विप्लवले हिंसात्मक राजनीति जारी राखेको छ। प्रधानमन्त्री ओलीले दलबीच एकता र राष्ट्रिय सहमति कायम गराउन सर्वदलीय बैठक बोलाउँदै आएका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले कोभिड-१९ को नियन्त्रण, यसमा प्राप्त उपलब्धिहरूको रक्षा गर्नुपर्ने विषयमा पनि धारणा राखेका थिए।