काठमाडौं | नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सुजाता कोइरालाले संसद पुनःस्थापना नगरिकनै चुनाव गर्न खोजे रक्तपात हुने चेतावनी दिएकी छन् । उनले शेरबहादुर देउवा संविधानको विपक्षमा उभिएर गम्भीर गल्ती गरिरहेको पनि भनेकी छिन्।
बिहीबार रिपोर्टर्स क्लब नेपालमा उनले देशमा रक्तपात हुनबाट जोगाउन संसद पुनःस्थापनाको विकल्प नभएको बताइन् ।
उनले देउवाको बारेमा केन्द्रीय कमिटी बैठकमा सवाल उठाउने समेत बताएकी छिन्।
‘शेरबहादुर देउवाजी किन संविधानको पक्षमा हुनुहुन्न ? ओलीको किन पछि लागिरहनुभएको छ आश्चर्य लागेको छ । उहाँ रक्तपात हुनसक्ने चुनावको कुरा गर्दै हुनुहुन्छ । तर, आफैँले ल्याएको संविधान र संसदको विपक्षमा किन बोलिराख्नुभएको छ, त्यो गलत हो,’नेत्री कोइरालाले भनिन् , 'तपाईँ ओलीका पछि लाग्ने होइन, कांग्रेसको अघि लाग्नुस्।'
उनले देउवालाई ओलीको पक्षमा उभिएर मुलुकलाई रक्तपात र अस्थिरतामा नलान पनि आग्रहगरेकी छिन्। उनले संसद पुनःस्थापना विना कांग्रेस चुनावमा नजाने पनि ठोकुवा गरिन् ।
कोइरालाले भनिन्,‘ओलीजीलाई म विश्वास गर्न सक्दिनँ । अरुले पनि विश्वास गर्न छाडिसके । ओलीमा मीठो भाषण गर्ने र गलत काम गर्ने कार्यशैली छ । हिटलर पनि मीठो भाषण गर्थे, उनको भाषण सुनेर महिलाहरु रुन्थे तर उनले रक्तपात मच्चाए ।’