सरकार र आमरण अनशनरत डा. गोविन्द केसी पक्षबीच आज वार्ता हुँदै


सरकार र आमरण अनशनरत डा. गोविन्द केसी पक्षबीच आज वार्ता हुँदै

सरकार र  डा. गोविन्द केसी पक्षबीच आज वार्ता हुँदै छ । अपराह्न चार बजेपछि वार्ता गर्ने तयारी छ ।

डा. केसीको तर्फबाट वार्ता टोलीका संयोजक डा. जीवन क्षेत्रीले आज सरकारी टोलीसँग वार्ता हुने बताए । केसीले भने, ‘हामी तयारी अवस्थामा छौं । सरकारले जति बजे, जहाँ बोलाउँछ, हामी त्यहीँ जान्छौं ।’

सरकारी वार्ता टोलीका संयोजक एवम् शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनाली सार्क मन्त्रीस्तरीय बैठकमा दिउँसो २ बजेदेखि ४ बजेसम्म सहभागी हुने कार्यक्रम रहेकाले त्यसपछि मात्रै वार्ता बस्ने तयारी गरिएको छ ।

डा. केसीले आमरण अनशन सुरु गरेको २४ औं दिनमा सरकारले बुधबार शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । सरकारी वार्ता टोलीमा स्वास्थ्य मन्त्रालयका सहसचिव गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य छन् ।

सरकारले वार्ता टोली घोषणा गरेलगत्तै डा. केसी पक्षले पनि डा. जीवन क्षेत्रीको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो । वार्ता टोलीमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, पूर्वअध्यक्ष डा. अञ्जनीकुमार झा र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन् ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...