सत्ताकाे खिचातानि : सपनामाथीकाे तुषारापात


सत्ताकाे खिचातानि : सपनामाथीकाे तुषारापात

नेपालमा राजनितिक क्रान्तिका लागि धेरै मानिसहरूले आफ्नाे जीवन अर्पण गरे ,कतिले आफ्नाे जीवनकाे लामाे समय देशलाई परिवर्तन गर्नमा समर्पण गरे। देशमा सामाजिक तथा राजनीतिक क्रान्तिहरू धेरै भएतापनि आजसम्म नेपाली समाजमा महसुस गर्नसक्ने गरि परिवर्तन देख्न भने पाइएकाे छैन ।२००७ साल ,२०३६ साल ,२०४६ साल त्यस्तै २०६२/६३ आन्दाेलन पश्चात मुलुक अहिले संघीय लाेकतान्त्रिक गणतन्त्र नेपालकाे रूपमा रहेकाे छ ।  २०७२ सालमा बनेकाे ऐतिहासिक संविधानले विभिन्न माैलिक हक तथा अधिकारहरू थप गरेकाे छ । समानुपातिक समावेशिता र सामाजिक न्यायकाे माध्यमबाट नेपाललाई समृद्ध र विकशित बनाउने लक्ष्यसमेत लिइएकाे छ । तरपनि यसकाे अक्षरसः कार्यान्वयन गर्न नसक्दा  नेपालमा राजनितिक , सामाजिक तथा साँस्कृतिक विखण्डनका घटनाहरू बेला बेला सतहमा आउने गरेका छन्।

जीवन नै राष्ट्रकाे नाममा अर्पण गरेर राजनितिमा हाेमिएका नेतृत्वकर्ताहरूअहिले कमजाेर नेतृत्वक्षमताका कारण आलाेचनाकाे शिकार बन्ने गरेका छन् । नेतृत्वकाे सत्ताकाे खिचातानी र सर्वसाधारणकाे करूणामय जीवनकाे दृश्यले आम नेपालीकाे हृदय छिया छिया भैरहेकाे छ  ।

शिक्षा, स्वास्थ्य, रोजगारी ,पूर्वाधार र आफ्नो अत्यावश्यकताका वस्तु परिपूर्तिका निम्ति  खाडी प्रवेशमा रोकथाम गर्नलाई हजारौं जनसागर बटुलेका राजनीतिज्ञ हरु अहिले जाडो महिनामा सिरक भित्र हावा कहाँबाट छिर्यो भनेर प्वाल खोजेजस्तो आफ्नै विरासत बिर्सिएर अनावश्यक झमेलामा अल्झिरहेका छन्। हामी देशप्रेमी जनताहरू पुर्खाहरुको गुणगान गाउँदै आफ्नै व्यक्तिगत स्वार्थका लागि एकापसमा झैझगडा गरिरहेका छौँ।

जताततै  भ्वाङ् परेको डोकामा सुन्दर भविष्य खोजिरहेका किसानहरु, कहिँकतै प्वाल नपरेको सर्टिफिकेट हातमा लिई अँध्यारो भविष्यदेखि निराश भएका विद्यार्थीहरु, फुटेका गालामा चिल्ला मुस्कानहरु अनि चिल्ला गालामा फुटेका मुस्कानहरु , विविधता ,समानता , समावेशिताका नाममा टुक्रिएका मुटुहरु कसैले जोड्न कोसिस  गरेको छैन । जबर्जस्ती च्यातिएका मुस्कानहरुलाई मल्हम लगाउने सानो प्रयास पनि कहिकतै बाट भएको देखिदैन । सबै आफ्नै दुःख ,व्यथा , पीर, मर्का मात्र सुनाउन आतुर छन्। सबैलाई आफ्नै समस्या मात्र समस्या लाग्छन् अरूको  कुरै सुन्न नचाहने हाम्रो मानसिकताले कतै प्रगतिशील बन्न बाधक बनेको त छैन??

सबैको समस्या समाधान गर्छौं भन्दै चटपटे राजनीति गरिरहेकै छन् केही हुलहरु ।कर्मचारी,चिकित्सक,विद्यार्थी,मजदुर,शिक्षक जता हेर्यो त्यतै राजनीति नै घुसेको  छ। अझ तटस्थ हुनुपर्ने  पत्रकारीता र  कलाकारीतता क्षेत्रमा धमिराले भन्दा पनि खतरनाक तरिकाले पेशागत मर्यादालाई नै मक्काउँदै छन् । सिद्धान्त /परिभाषालाई कागजमै सीमित राखेर व्यवहारलाई मात्र सर्वोपरि मानी गरिने राजनीतिमा क्यान्सर लागिसकेको छ।

एकातिर विद्यालय शान्ति क्षेत्र भन्दै गर्दा अर्कोतिर विद्यार्थी सङ्गठनहरुलाई स्कूल कमिटी बनाउन हतार भइरहन्छ। नेतृत्व क्षमताको विकास गराउने नारा ओकलेर जिन्दावाद र मुर्दावाद रटाउँदै आज पनि टायर बाल्न र ताल्चा लगाउन प्रेरित गरिरहेकै छन् सङ्गठनहरु।

उता सरकारको दोस्रो दर्जा पाएको कर्मचारीतन्त्र पनि मनपरीतन्त्र को रुपमा परिणत भइसकेको छ। भ्रष्टाचारको अन्त्य र सुशासनको नारा बनाउने राजनीतिक दलहरु आफै  माकुरीको जालोमा माकुरो फसेजस्तो भ्रष्टाचारको जालोमा फसिरहेका छन्। जिन्दगी बचाउने प्रण लिएर रगत र पसिना बगाएका चिकित्सकहरु अस्पताल नै बन्द गरेर सडकमा उत्रिने अवस्था आएको छ। मजदुर, राजनीतिज्ञहरु आलिशान महलमा पुगिसक्दा वास्तविक मजदुर भने आज पनि दुई छाकटार्न हात चरचरी फुटाउन बाध्य भइरहेकै छन्।

दलदल यति सम्म बढीसक्यो कि एउटा अपराधी पत्ता लगाउन भन्दा बढी १२,१३ वटा छानबिन समितिलाई कारबाही गर्न सजिलो भइसक्यो।

मातृभूमि भनेर पुजिने ठाउँमा आज कुनै पनि आमाहरु ढुक्क भएर रमाउने अवस्था छैन।छोरा होस् या छोरी हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराधमा पिसिने हुन कि भन्ने धङधङी प्रत्येक बाबु आमामा देख्न पाइन्छ। राणाशासन , पञ्चायती शासन ,शाह वंशीय शासन भन्दा संघीय गणतन्त्रात्मक शासन कतै भारी हुँदै गएको त हैन? जनताको मतलाई अंगीकार गरेर त्यहि मतलाई नै लात्ता हान्ने मौका दिरहनुमा कतै जनताकै गल्ती त  छैन? सिउँदोको सिन्दुर,तिलहरी र पोते, जामा र पाइन्ट रगतमा मोलेर लगाउन दिएको के आज यस्तै दुर्दशा भोग्न र देख्नलाई थियो त?

बिहानीले दिनको संकेत गर्छ भनेको जस्तै अहिले त बिहानी ढल्केर दिनको सुरुवात भइसक्दा पनि घाम लागेजस्तो महसुस हुँदैन। सयौँ पूर्णिमा कटेर गैसक्दा पनि दैनिक औंसी मात्र हो जस्तो भान भइरहन्छ। निराशाका बादलहरु सर्वसाधारणका मन मस्तिष्कमा मडारि रहेकै छन्। बादल हटाउनलाई वर्षातको आवश्यकता पर्छ तर यहाँ आँशुको वर्षातले बाढी आइसक्दा पनि कतै उज्यालो भएजस्तो देखिँदैन।

अन्त्यमा, जतिसुकै निराशा ,आक्रोश, डर र त्रास भएपनि मानिस भएपछि आशा भन्ने कुराले जीवन्त बनाइरहन्छ। भनिन्छ आशाहीन जीवनको कुनै  पनि मूल्य हुँदैन तर हामी नेपालीहरु आशैआशामा मात्र रूमल्लिरहनु परेको छ । रात परेपछि भोलि फेरि नयाँ बिहानीको आशा गरिन्छ ; त्यस्तै अहिले देशमा अन्धकार छाइरहेको छ। हामीलाई राजनितिक क्रान्तिका पन्नाहरू अब घाेक्नु छैन् । तेराे र मेराेकाे कित्ता हामीलाई छुट्याउनु छैन । सबैकाे साझा फूलबारी बनाएर  सबैले नयाँ बिहानीको आशा गरेर सुनौलो बिहानी ल्याउने जमर्को गरी मिहिनेत  गरेमा अवश्य पनि सप्तरंगी इन्द्रेणी झल्काउन सकिन्छ।मखमली र सयपत्रीले जोड्ने सम्बन्ध अझै बलियो बनाउन सकिन्छ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...