सौराहामा पर्यटकको घुइँचो


सौराहामा पर्यटकको घुइँचो

चितवन । लामो समयदेखि सुनसान रहेको सौराहामा एक्कासी चहलपहल छाएको छ । लकडाउन र निषेधाज्ञापछि पर्व बिदा समेत परेकाले पर्यटकको चहलपहल बढेको हो । दशैँको टीकाको दिनयता राप्ती किनारका पबहरुमा आन्तरिक पर्यटक बढेका छन् भने होटल बुकिङ भईरहेका छन् । व्यवसायीले अपेक्षा गरेभन्दा बढी पर्यटक सौराहामा आइरहेका छन् ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार ३० देखि ३५ प्रतिशत होटल बुकिङ भइरहेका छन् । सुनसान अवस्थामा एकाएक पर्यटक आएपछि बिदामा रहेका कर्मचारी डाकेर होटल सञ्चालकले व्यवस्थापन गरिरहेका छन् । उहाँका अनुसार सबै पर्यटक स्वदेशी हुन् । जिल्लाभन्दा बाहिरका पर्यटक बढी रहेको उहाँले जानकारी दिनुभयो । काठमाण्डौं, पोखरा, वीरगन्ज, बुटवल, नेपालगञ्ज लगायतका क्षेत्रबाट पारिवारिक र समूहगत रुपमा युवाहरु यहाँ आएको भट्टराईको भनाइ छ । उहाँले भन्नुभयो “यसले निरन्तरता पाए राम्रो हुन्थ्यो, भोलिदेखि के हुन्छ थाहा छैन ।”

गएको चैत ११ गतेबाट बन्द रहेका सौराहाका होटलहरु बीचमा केही समय खुलेको भए पनि पर्यटक आएका थिएनन् । सौराहामा ११० होटल छन् जसमध्ये एक सय हाराहारीले सेवा शुरु गरेका छन् । पर्यटकको चहलपहल बढेसँगै रेष्टुरेन्ट पनि खुलेका छन् । होटलमा भन्दा रेष्टुरेन्टको व्यापार बढी छ । जिल्लाका आन्तरिक पर्यटक घुमेर रेष्टुरेन्टमा रमाएर साँझ फर्किनेहरु पनि छन् भने बाहिरी जिल्लाका पर्यटक भने साँझ सौराहामा नै बस्ने गरेका छन् । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहामा रहेका ८० रेष्टुरेन्टमध्ये लगभग सबै खुलेका छन् ।

उहाँले भन्नुभयो, “व्यवसायी उत्साहित भएका छन् । क्रमशः बढ्ने हाम्रो अपेक्षा छ ।” राप्ती नदीको किनारमा बनाइएका पबमा बिहानदेखि साँझसम्म रमाउने क्रम बढेको उहाँले जानकारी दिनुभयो । पर्यटक आएसँगै दैनिक चितवन राष्ट्रिय निकुञ्जभित्र जीप सफारी, स्थानीय सामुदायिक वनमा हात्ती सफारी शुरु भएको छ ।

सौराहाबाट काठमाण्डौं आवतजावत गर्ने पर्यटक बस पनि सञ्चालनमा आएका छन् । क्षेत्रीय होटल संघ सौराहाका पूर्व अध्यक्ष समेत रहनु भएका जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरेले दशैँसँगै पर्यटक बढेपछि आफूहरुमा उत्साह थपिएको बताउनुभयो । आन्तरिक पर्यटक आउने क्रम शुरु भएको भन्दै उहाँले कोभिड सङ्क्रमण नहोस् भन्नका लागि आवश्यक सम्पूर्ण सुरक्षा मापदण्ड अपनाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पाहुनाको स्वास्थ्य सुरक्षाका लागि नेपाल सरकारले तोकेको मापदण्ड हामीले पूरा गरेका छौं ।” सबै व्यवसायीले सङ्क्रमण फैलिन नदिनका लागि सतर्कता अपनाएको उहाँको भनाइ छ ।

सात महिनादेखि घरमा नै पट्यारलाग्दो बसाइले गर्दा पनि आन्तरिक पर्यटकहरु घुम्न रुचाएका छन् । सफारीका लागि यो निकुञ्ज प्रख्यात छ । स्वदेशी र विदेशी पर्यटक यहाँ जङ्गल सफारीका लागि आउने गर्दछन् । दुर्लभ एकसिंगे गैंडा, बाघ, घडियाल गोही जस्ना जनावर, चराचुरुङ्गीको अवलोकन गर्न पर्यटक आउने गर्दछन् ।

रेड पाण्डा संरक्षण दूतमा कलाकार दयाहाङ राई नियुक्त
नेपाली कलाकार दयाहाङ राई हाब्रे (रेड पाण्डा) संरक्षण दूतमा नियुक्त भएका छन् । संरक्षण दूत नियुक्त भएसँगै कलाकार राई दुर्लभ वन्यजन्तु हाब्रे (रेड पाण्डा) को संरक्षण र अवैध चोरीसिकारी विरुद्धमा जनचेतना जगाउने अभियानमा सहभागी हुनेछन् । प्रसिद्ध कलाकार दयाहाङ राईसँग रेड पाण्डा संरक्षण कार्यमा सहकार्य …
मानहुँडाँडामा ‘दृश्यावलोकन स्थल’ निर्माण शुरु
तनहुँ | पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको तनहुँको ब्यास नगरपालिका–५ मानहुँकोटमा दृश्यावलोकन स्थल निर्माण शुरु गरिएको छ । मानहुँकोटको पर्यटन प्रवद्र्धन गर्न र आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न डाँडामा दृश्यावलोकन स्थल निर्माण शुरु गरिएको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित हुँदै…
पर्यटकीय तथा धार्मिक स्थल देवीकोटमा आन्तरिक पर्यटकको घुइँचो
दाङ देउखुरीको पहाडी क्षेत्र देवीकोटस्थित भद्राक्षीदेवी मन्दिरमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । पहाडको चुचुरामा अवस्थित भद्राक्षीदेवी मन्दिर परिसरमा पछिल्लो समय आन्तरिक पर्यटकको आउजाउ बढेसँगै नयाँनयाँ संरचना पनि निर्माण भइरहेका छन् भने कतिपय निर्माण प्रक्रियामा छन् । हिन्दू धर्मालम्बीको शक्तिपीठ …

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...