durbar-times

पूर्वीनाकाको सुरक्षा र होल्डिङ सेन्टरको मन्त्रीद्वारा अनुगमन


पूर्वीनाकाको सुरक्षा र होल्डिङ सेन्टरको मन्त्रीद्वारा अनुगमन

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले मङ्गलबार पूर्वीनाका काँकडभिट्टाको अनुगमन गर्नुभएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उच्चस्तरीय टोलीसहित अपराह्न आउनुभएका मन्त्री कार्कीले काँकडभिट्टा नाकाको होल्डिङ सेन्टर र जाँचको प्रत्यक्ष निरीक्षण गरेका छन्  ।

निरीक्षणपछि मेची भन्सार कार्यालयमा सरोकारवाला निकायसँगको छलफलमा उहाँले कोभिड–१९ को दोस्रो लहर नियन्त्रणका लागि प्रदेश सरकार सम्भव सबै उपाय अवलम्बनमा कटिबद्ध रहेको बताए । उहाँले भारतसँगको सीमा क्षेत्रमा सुरक्षा निगरानी कसिलो बनाउन र होल्डिङ सेन्टरलाई व्यवस्थित तुल्याउन निर्देशन दिए ।

छलफलमा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना, जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेती र जिल्लास्थित सुरक्षा निकायका प्रमुखको सहभागिता थियो । मन्त्री कार्कीले सीमा नाकाको निरीक्षण गरी कोभिड–१९ नियन्त्रण अभियानमा कुनै कसुर बाँकी नराखी साधन, स्रोत र जनशक्ति परिचालन गर्न सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको जिसस प्रमुख पोर्तेलले जानकारी दिए ।

काँकडभिट्टा नाकामा निर्माणाधीन एक हजार क्षमताको होल्डिङ सेन्टर र सीमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले सामना गर्दै आएका समस्याका बारेमा मन्त्री कार्कीले सोधपुछ गर्नुभएको पोर्तेलले बताए । नाकामा हाल मेची पुलकै छेउमा नेपाली सेनाले बनाएको तीनवटा टेन्टमा २५ जना क्षमताको होल्डिङ सेन्टर सञ्चालित छ । सेनाले काँकडभिट्टा खेलमैदानमा एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माणका लागि काम थालिसकेको छ । (रा स स)

1

कंगना रनौतलाई कोरोना संक्रमण पुष्टि

2

बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै, बार्सिलोनाका प्रशिक्षक यसो भन्छन्

3

भारतमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

4

जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइयो

5

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

6

कांग्रेस संसदीय दलको बैठक बस्दै


Share Tweet Send