काठमाण्डौ | यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जेठमा परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो ।
कोभिड–१९) का कारण गत वर्ष एसईई सञ्चालन हुन सकेन ।
राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)एसईईको रजिष्ट्रेसन र आवेदन फाराम खुला गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को २०७७ सालमा सञ्चालन हुने एसईईमा समावेश हुन आवेदन फारम खुला गरेको हो ।
सम्बन्धित विद्यालयले आफ्ना विद्यार्थीको नामथर, जन्ममिति, आमाबाबुको नाम रुजू गरेर भर्नुपर्नेछ । भरिएको फारामलाई विद्यालयले आगामी माघ मसान्तभित्र सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा बुझाइसक्नुपर्नेछ ।
२०७७ सालमा कक्षा १० मा नियमित अध्ययन गरेको विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक पौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थी समेतलाई आवेदन खुला गरिएको बोर्डको परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।
बोर्डले बुधबार निकालेको सूचनाअनुसार आवेदन फारम पुस १६ देखि माघ २१ गतेसम्म भरिसक्नुपर्नेछ ।
रजिष्ट्रेसनका लागि प्रतिविद्यार्थी तीन सय रुपियाँ र आवेदन फारामका लागि पाँच सय रुपियाँ कायम गरिएको छ । विगतको भन्दा करिव साढे तीन महिना ढिला गरी फाराम खुलाइएको छ ।
यस वर्षको एसईई कसले सञ्चालन गर्ने भन्ने अझै टुङ्गो लाग्न सकेको छैन ।
