सेयर बजार फेरि उच्च विन्दुमा पुगेर बन्द भएको छ । बिहीबार बजार नाप्ने नेप्से सूचक हालसम्मकै उच्च विन्दुमा बन्द भएको हो । नेप्से सूचक बिहीबार २५.२१ अंकले बढेर २०८७.२८ विन्दुमा बन्द भएको छ । जुन हालसम्मकै उच्च क्लोजिङ विन्दु हो । त्यसो त, गत साताको बुधबार नेप्सेले इन्ट्रा डे कारोबारमा २१२७ को अलटाइम हाइ विन्दु टेस्ट गरेपनि बन्द हुने बेलामा करेक्सन भएको थियो ।
नेप्सेमा बिहीबार २०७ कम्पनीको ५ अर्ब ७० करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । कुल १ करोड १४ लाख ६४ हजार २०० कित्ता सेयर किनबेच भएका छन् । निर्जीवन बिमा समूहबाहेक बाँकी सबै समूहमा वृद्धि भएको छ । सबैभन्दा धेरै ट्रेडिङ समूह १८७.७३ अंकले बढेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर भाउ सर्किट लागेर बढेको छ । साल्ट ट्रेडिङको भाउ १०% ले बढेको हो । कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी अघि आएको छ । यसको ४६ करोड ८८ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ ।