काठमाडौं | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगले अहिलेसम्म चुनावी कार्यतालिका सार्वजनिक नगर्दा आशंका उत्पन्न भएको बताएका छन् । देउवाले चुनाव चिन्ह सूर्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ वा केपी शर्मा ओली समूहमध्ये एकलाई दिन आग्रह गरेका छन् ।
प्रतिनिधिसभा विघटनको विरोधमा सोमबार बुटवलमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै देउवाले उक्त आग्रह गरेका हुन् ।
त्यस्तै, देउवाले सूर्य चिन्ह कसैलाई पनि नदिएको भन्दै त्यसको छिनोफानो गर्न आयोगलाई आग्रह गरेका हुन् । ‘कसलाई सूर्य चिन्ह दिने भन्ने निर्णय अहिलेसम्म गर्न नसक्ने ? सबैभन्दा बेस त चुनाव चिन्ह अरू नै दिए भइहाल्यो । सूर्य एउटै छ, दुइटा पार्टीलाई एउटा चिन्ह कसरी दिने ?’
सभापति देउवाले संसद विघटन भएको ६ महिनाभित्र चुनाव गराउनुपर्ने संवैधानिक व्यवस्था रहेको भएपनि निर्वाचन आयोगले अहिलेसम्म चुनावी कार्यतालिका बाहिर नल्याउँदा शंका उत्पन्न भएको बताएका हुन् ।
निर्वाचन आयोगले चुनावको प्रक्रिया नै शुरु गरेको छैन । निर्वाचन आयोगले चुनावको कार्यक्रम किन बाहिर निकाल्दैन । कुनै पनि संसद विघटन भएको ६ महिनाभित्र चुनाव गरिछाड्नुपर्छ । कमसे कम जेठ अन्तिमतिर त चुनाव गराउनै पर्छ । निर्वाचन आयोग संविधानभन्दा बाहिर जान सक्छ,’ कार्यक्रममा बोल्दै देउवाले भने, ‘निर्वाचन आयोगलाई यहीँबाट भन्न चाहन्छु । प्रधानमन्त्री ओलीले संसद विघटन गरेका ६ महिनाभित्र चुनाव गराउनै पर्छ । बैशाखसम्म चुनाव गराउँछु भनेको छ तर आयोगले किन अहिलेसम्म किन कार्यतालिका सार्वजनिक गरेको छैन ?’
उनले अदालतमा विचाराधीन रहेको संसद पुर्नस्थापनाको विषयमा सडकमा आन्दोलन नगर्ने दोहोर्याए ।
उनले भने, ‘जनताभन्दा ठुलो अदालत संसारमा अरु केहीपनि छैन । हामीले भन्ने एउटा कुरा अदालतमा विचारधीन मुद्दामा यस्तो गर उस्तो गर भन्न मिल्दैन । जुलुस निकालेर अदालतलाई यसो गर उसो गर भन्न मिल्दैन । अदालतमा विचाराधीन मुद्धामा किनारा नलाग्ने बेलासम्म पर्खिऊँ न । स्वतन्त्र न्यायपालिका मान्ने पार्टी भएकाले निष्पक्ष न्याय दिन्छ भन्ने विश्वास हामीलाई छ ।’