काठमाडौं । नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवाले नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिला दिदी बहिनीहरुमा शुभकामना व्यक्त गरेका छन् ।
सोमवार एक विज्ञप्ति जारी गर्दै उनले नेपालमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेको पनि नेपालमा महिलामाथि हुने विभेद र हिंसाको घटनाबाट नेपाल मुक्त हुन नसकेको बताएका छन् । देउवाले नेपालको शहरदेखि दूरदराज गाउँसम्म महिलामाथिको हिंसा बढिरहेको र नारी दिवसले महिला सशक्तिकरणको लागि भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
‘अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि महिला माथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन सकेको छैन । शहरदेखि दुर दराजका गाउँहरुमा आज पनि महिलाहरु शोषण, दमन र उत्पीडनबाट आक्रान्त छन् । महिला माथि हुने विभेद र हिंसाका विरुद्ध नारी जागरण आजको आवश्यकता हो । हिंसा- लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको सबैभन्दा ठूलो खतरा हो । हिंसा— मुलुकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक हो । हिंसा-सामाजिक एकता र सद्भावलाई कमजोर बनाउने कारण पनि हो । नेपाली कांग्रेस सबै खाले हिंसाको अन्त्य चाहन्छ । महिला विरुद्ध हुने सबै खाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन अन्तर्राष्ट्रिय नारी दिवसले सहयोग पुर्याउनेछ भन्ने मैले विश्वास लिएको छु ।’ सभापति देउवाले भने ।
नेपालमा लोकतन्त्रको स्थापना र पुनर्स्थापनाका हरेक आन्दोलनहरुमा अग्रणी स्थानमा उभिएर कैयन महिला दिदी बहिनीहरुले आफ्नो प्राणको आहुती दिने महिलाहरुप्रति सभापति देउवालवे सम्मान प्रकट गरेका छन्।