सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि देशभर आआफ्ना पार्टी कार्यालयमा साइनबोर्डहरु फेरिन थालेका छन् ।
धूम्रबाराहीस्थित एमाले पार्टी कार्यालयमा पनि साइनबोर्ड फेरिएको छ । अदालतको आइतबारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई मान्यता नदिएपछि आआफ्ना पार्टी कार्यालयमा साइनबोर्ड राख्ने क्रम बढ्दै छ । झापाको पार्टी कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखिएको छ ।
एकीकरणपूर्व एमाले केन्द्रीय कार्यालय धूम्रबाराही र माओवादी केन्द्रको कार्यालय पेरिसडाँडा रहेका थिए । विसं २०७५ जेठ ३ गते एकतापछि दुवै ठाउँमा नेकपाका केन्द्रीय कार्यालयको साइनबोर्ड राखिएको थियो ।धूम्रबाराहीस्थित एमालेको कार्यालयको नाम र साइनबोर्ड आज फेरिएकोे कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।उनका अनुसार अदालतको आदेश कार्यान्वयनका लागि पार्टीको कार्यालयको नाम र साइनबोर्ड परिवर्तन गरिएको हो ।
देशभर धेरै ठाउँमा राखिसकिएको र बाँकी ठाउँमा पनि छिट्टै राखिने तयारी छ । तत्कालीन एमाले र माओवादी केन्द्र मिली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भई सोही साल जेठ २३ गते निर्वाचन आयोगमा नयाँ नाम दर्ता भएको थियो ।
त्यसअघि नै आयोगमा ऋषिराम कट्टेल अध्यक्ष रहेको ‘नेपाल कम्युनिष्ट पार्टी’ नामक दल दर्ता रहेकाले सोही नामको अर्को दल दर्ता गर्न नमिल्ने भनी सर्वोच्च अदालतले यही फागुन २३ गते एमाले र माओवादी केन्द्रलाई पहिलेकै अवस्थामा ब्यूँताएको हो ।