durbar-times

सिसिटिभीकाे कैदमा भएका शाेभराजले कसरी दिए विदेशी सञ्चारमाध्यमलाई अन्तरवार्ता ?


सिसिटिभीकाे कैदमा भएका शाेभराजले कसरी दिए विदेशी सञ्चारमाध्यमलाई अन्तरवार्ता ?

अन्तर्राष्ट्रिय रूपमा कुख्यात अपराधी चार्ल्स शोभराजले एक ब्रिटिश पत्रिकालाई जेलभित्रबाटै कसरी अन्तर्वार्ता दिन सफल भए भन्ने विषय उनी रहेको कारागारको अनुसन्धानका क्रममा समेत प्रस्ट हुन नसकेको अधिकारीहरूले बताएका छन्।

चैत १४ मा एक ब्रिटिश पत्रिकामा प्रकाशित उनीसँगको अन्तर्वार्तामा आधारित भनिएको सामग्री प्रकाशित भएपछि केन्द्रीय कारागार सुन्धाराले त्यसको खोजबिन गरेको थियो।

उक्त कारागारका प्रमुख लक्ष्मी बाँस्कोटाले बीबीसीलाई भने, "उनले परिवारसँग सम्पर्क गर्ने नम्बर बाहेकमा फोन गरेको विवरण देखिएन। सायद त्यसक्रममा भएका संवादलाई पत्रिकाले प्रयोग गरेको हुनसक्छ।"

चार्ल्स शोभराज केन्द्रीय कारागारको गोलघरमा बस्ने र उक्त ठाउँ सीसीटीभी क्यामेराको निगरानीमा समेत हुने केन्द्रीय कारागारले जनाएको छ।

पछिल्लो समय उनीसँग बाहिरका मानिसहरूको भेटघाट नभएको बताइएको छ।

"जेलभित्रकै अन्य कैदी र ड्यूटीमा रहेका सुरक्षाकर्मीसँग समेत उनले खासै कुराकानी गरेको देखिँदैन," जेलर बाँस्कोटा भन्छन्।

"उनको र आसपासका कोठाहरू खानतलासी गर्दा समेत कुनै फोन, सीमकार्ड वा अन्य सञ्चारका उपकरणहरू भेटिएनन्।"

कारागार प्रशासनले उनी उक्त जेलमा आएदेखि अमेरिका, ब्रिटेन र फ्रान्समा उनले नियमित गरिरहने नम्बरहरूमा मात्र फोन गरेको विवरण पाएको जनाएको छ।

उनले प्रायजसो अङ्ग्रेजी र फ्रेन्च भाषामा संवाद गर्ने गरेको कारागार अधिकारीहरू बताउँछन्।

जेलर बाँस्कोटा थप्छन्, "हाम्रो निष्कर्ष परिवार वा साथीहरूलाई सम्पर्क गर्ने तिनै नम्बरमार्फत् संवादको रेकर्ड पत्रकारसम्म पुगेको हुनसक्छ। त्यही कुरा हामीले गृह मन्त्रालय र कारागार व्यवस्था विभागलाई अवगत गरायौँ।"

नियमानुसार कैदीहरूले प्रत्येक हप्ता दुई पटकसम्म आफन्त र परिवारसँग टेलिफोनमा कुराकानी गर्न पाउँछन्।

त्यसरी टेलिफोनमा कुराकानी गर्दा विदेशीको हकमा अङ्ग्रेजी भाषाको मात्र प्रयोग गर्न पाइने व्यवस्था रहेको बताइन्छ।

तर जेलभित्रबाट हुने संवादको रेकर्ड भने कारागारले राख्ने गरेको छैन।

प्रकाशित सामग्रीमा शोभराजले आफू केही सातामै छुट्न लागेको र आफू निर्दोष भएको बताएको उल्लेख छ।

"ती संवाद आफ्ना परिवारलाई सान्त्वना दिनका लागि धेरैजसो कैदीबन्दीले सामान्य रूपमा गर्ने खालकै हुन्," जेलर बाँस्कोटा भन्छन्।

"त्यसैले जेलको सुरक्षा र संवेदनशीलतालाई असर पर्ने कुरा नगरेसम्म उनीहरूलाई रोक्ने वा कारबाही गर्ने गरिएको छैन।"

बिबिसी नेपालीबाट साभार

1

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

2

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?

3

कर्णालीमा मुख्यमन्त्रीले विश्वासको मत लिँदै

4

मध्यपहाडी आयोजनाको काम असारभित्रै सम्पन्न हुने

5

लुटपाट आरोपमा चार युवकलाई पक्राउ

6

भारतमा २४ घण्टामा २ लाख १७ नयाँ संक्रमित थप


Share Tweet Send