सोसल मिडिया नै रियल लोकतन्त्र हो, अरू सबै व्यवसाय: भिम उपाध्याय


सोसल मिडिया नै रियल लोकतन्त्र हो, अरू सबै व्यवसाय: भिम उपाध्याय

सत्य, कठोर, तीतो तथ्य सुन्नुपर्दा निराश हुनेहरू थुप्रै हुन्छन्। तर,  समाज बदल्ने भनेकै सत्य तथ्यमा बेहोर्ने अदम्य साहस भएकाहरूले हो।

नेपालका ठूला मिडियामा ससाना व्यक्तिका टाढाका मानवीय योग्यता, क्षमता, सक्षमता  वा सफलता समाचारहरूले स्थान पाउँदैनन्।  समाचार बन्दैनन्। राजनीतिक प्रशासनिक पद र पावरसंगको नातामात्र ठूला समाचार बन्छन्। यो पावरमुखी संस्कार हो। अहिले सोसल मिडिया क्रान्तिले चरक्कै यसलाई चिर्दैछ, जनमुखी माध्यम बनेको छ।

नेपालको राजनीति भनेको दलीय क्लब संचालन गरेको मात्र हुदै आएको छ, सुशासन र जनसेवा हैन।  निजामती सेवाका करिब ८० हजार कर्मचारी र सेनाका करिब १ लाख जवानबाहेक अरू सबै सरकारका, राज्यका निकाय र पदमा आआफ्नो शासन कालमा आ-आफ्ना नातेदार, दलका कार्यकर्ता वा चन्दादाताहरूलाई नियुक्त गरिएका हुन् । यस्ता नियुक्ति कै कारणले प्राप्त धनबाट दलहरूको अर्थतन्त्र चलिरहेको हुन्छ। त्यस अतिरिक्त यसरी आफ्ना दलीय वा नाताका निकटलाई घुसाएर निरन्तर सत्तामाथि कब्जा पनि जमाईरहेको हुन्छ। कम्युनिष्ट दलमा नियुक्ति पाउनेले नियमित निश्चित आम्दानी लेभी दिनुपर्ने अनिवार्य छ। गैरकम्युनिष्ट दलमा नियुक्तले प्रिपेड वा पोस्ट पेड धनदान अनिवार्य हुन्छ। नियुक्त पाउनेले लगानी गरेकोले लगानीको फाईदा लिने र नियुक्ति दिनेले सत्ता कब्जा गर्ने तथा दलको अर्थतन्त्र चलाउने काम हुदै आएको छ।

यसै कारणले नेपालमा बस्नु छ भने कुनै न कुनै दलमा आवद्ध हुनैपर्छ वा नेताका दबाबदिन सक्ने निकटका नातेदार हुनुपर्छ वा दललाई कुस्त पैसा पेल्नुपर्छ भनेर सोचिन्छ। यहॉ जहॉ पनि जसले पनि राजनीति गर्नुपर्ने कारण नै यही हो। नसक्ने पलायन हुने कि पिडीत जिवन बिताउने, उसको बाध्यता बन्छ।

नेपालमा सुशासन, सुधार र बिकास हुन असंभव हुनुको मूल कारण यिनै यस्तै राज्यका सबै अंगमा हुने दलीय राजनीति आबद्ध नियुक्तिहरूबाट दलको अर्थतन्त्र चलाउने र सत्तामाथि कब्जा जमाईरहने र ती नियुक्त वा ब्यापारीक आफन्तमाथि सरकारले कुनै कार्यवाही गर्न पनि असमर्थ र निरीह हुँँदै आएकाले नै हो।

आफ्नै माकुरी जालको पासोमा नेपाली जनता र राजनीति जकडिएको छ। त्यसमाथि राजनीतिक जनवर्गीय गैरसरकारी संगठनहरू र राजनैतिक संरक्षित माफियाहरूको बोलबालाको त कुरा गरी के साध्य भयो र खै!

सार्वजनिक पदाधिकारीहरूले उहिले उहिले सूचना लुकाएर पावरफुल बन्थे । अहिले सूचनाको बमबारी गरेर पावरफूल भइन्छ तर पूरानो ह्याङ्गओभरका कारण सुचना अझै लुकाउन खोज्छन्। सोसल मिडियाको आगमन पछि भित्ताको कान मात्र हैन, आँखा पनि हुन्छ भन्ने बुझ्न लागेका छन्। अहिलेको युगमा लुक्ने लुकाउने कुरा केही बॉकी छैन, बेडरूमसम्मको दृश्य पनि देखाउन चाहने हो भने पनि सकिने दिन आएको छ।

जसले यो बुझेन,  उसले रियल पावर खेलाउन जानेन। अहिलेको सोसल मिडिया र ईन्टरनेटको युग बोल्ने, लेख्ने वा वाक् स्वतन्त्रताको उपभोग गर्ने अनुपम लोकतान्त्रिक जमाना हो।

मानिसहरू आज त्यही हुन जो हिजोका कर्मको सॉचामा ढालिएका छन्। तिनका विगतका कर्मका कारण आज लेख्न, बोल्न हच्किन्छन्, 'विपष्यना' बस्न बाध्य छन्, तिनीहरूलाई अगाध सहानुभूति दिनुपर्छ। बोल्न लेख्न नसके भाषा र मनका कुरा गुम्सन्छ, रोग जन्मन सक्छ। त्यस्तो मौन व्रत तोडेर तिनले बोल्न वा लेख्न यो जुनिमा मुस्किल पर्छ- यो कम ठूलो पीडाको कुरा हुँँदैन।

हरेक दिन यसरी जिऔँ ताकि हरेक क्षणमा बोल्न दुई पटक सोच्न नपरोस् ! मान्छेको वाणी प्रष्टिटन आन्तरिक बाह्य बन्धन नआओस्। अनि पो जिवन पाएको, अनि पो मज्जा लोकतन्त्र र वाक् स्वतन्त्रताको!

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...