श्रीलङ्काको राजधानीमा कोलोम्बोको बाहिरी इलाकामा रहेको एक कारागारमा भएको दङ्गामा परि आठ जनाकाे ज्यान गएकाे छ ।
यस दङ्गामा ज्यान गुमाएका सबै व्यक्ति कैदी नै भएका सिन्हवा समाचार समितिद्वारा प्रकाशित समाचारमा जनाइएको छ । दङ्गामा परि अन्य ५५ जना घाइते भएका छन् । घाइते भएकाहरूमा सुरक्षाकर्मी पनि रहेका छन् ।
कारागारमा कोरोना भाइरसको प्रकोप बढ्न थालेपछि बन्दीहरूले धरौटीमा मुक्त हुन पाउनुपर्ने र थप सेवा, सुविधाको माग गर्दै प्रदर्शन गरेका थिए । राजधानी कोलोम्बोमा रहेकाे वेलिकाडा जेलका बन्दीहरूले छानामा चढेर आफूहरूलाई धरौटीमा छोडियोस् भन्दै प्रदर्शन गरेका हुन् ।
श्रीलङ्काको जेलहरूमा अहिलेसम्म झण्डै एक हजार जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएका छन् भने कोरोनाबाट २ जना मृत्यु भएको छ ।
कारागारमा रहेका बन्दीहरूले सुरु गरेको दङ्गा अनियन्त्रित भएपछि नियन्त्रणमा लिनको लागि बल प्रयोग गर्नु परेको प्रहरी प्रवक्ता अजित रोहनाले बताएका छन् ।
यस दङ्गामा घाइते भएकाहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरी प्रवक्ता रोहनाले बताएका छन् । कारागारमा सुरक्षा बढाउन विशेष तालिम प्राप्त कमाण्डाेहरूकाे टोली झिकाइएको पनि उनले बताए ।
कारागारको ओरिपरी ६०० जना पुलिस र २०० जना कमान्डो परिचालान गरिएको श्रोतको दाबी छ ।