कांग्रेस नेतृ सुजाता काेइरालाले पार्टीकाे विरासत जाेगाइराख्न र पार्टीलाइ नयाँ दिशामा अगाडी बढाउनका लागि कांग्रेसकाे आगामी महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घाेषणा गरेकी छिन् ।
व्यक्तिगत स्थार्थ र पदलाेलुपताले गर्दा पार्टीकाे इतिहास नै संकटमा परेकाे बताउँदै उनले आफू नेतृत्वमा बसेर पार्टीकाे पुरानाे विरासत फिर्ता ल्याउने पनि बताइन् ।
‘‘गिरिजाप्रसाद कोइरालाको विरासत थाम्न सक्छु भन्ने त मेरो अहिले नै दाबी छैन,’’ सुजाता भन्छिन्, ‘‘तर, कांग्रेसले बलियो नेतृत्व पाएन । नयाँ पुस्ता सधैं बुढाहरुको नेतृत्वमा गयो र पार्टी नै बुढोजस्तो भयो भन्ने निराशा देखियो । त्यसैले युवा र महिलाहरुमा आत्मविश्वास भर्ने योजनासहित म नेतृत्वमा दाबी गर्दैछु ।’’
‘गिरिजाप्रसाद कोइरालाले ८७ वर्षसम्म नेतृत्व गर्नुभयो नि ?’ भन्ने प्रश्नमा उनले धेरै वर्षसम्म नेतृत्वमा बसेर पनि युवाहरुलाई निराश हुन नदिएको र कांग्रेसलाई सधैं ‘नेता पार्टी’ बनाएको दाबी गरिन् ।
‘‘अहिलेकै नेतृत्वले निरन्तरता पायो भने त भोलि कांग्रेस कस्तो बन्छ भन्ने जिज्ञासा नै बाँकी रहेन । कस्तो कांग्रेस बन्छ भन्ने सबैले देखिसकेका छन्,’’ कोइरालाले भनिन्, ‘‘केन्द्रकै नेताहरुमा निराशा छ । गाउँगाउँमा नेता–कार्यकर्ता साथीहरु निराश र दमित भएर बस्नुपरेको छ । यो निराशाबाट बाहिर निकाल्न सकिएन भने कांग्रेस कसले जोगाइदिन्छ ?’’ उनले कांग्रेसलाई निराशाको भुमरीबाट बाहिर निकाल्न नेतृत्व परिर्वतन पहिलो सर्त भएको बताइन् ।