सुरक्षित गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि


सुरक्षित गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि

गुल्मीमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको छ । तीन आर्थिक वर्षको तथ्याङ्कले जिल्लामा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको देखाएको हो ।

आव २०७४÷७५, ०७५÷७६ र ०७६÷७७ मा  कूल दुई हजार ४४३ जनाले सुरक्षित गर्भपतन गराएका छन् । तीमध्ये १९६ जना २० वर्षभन्दा कम उमेरका छन् भने दुई हजार २४७ जना २० वर्षभन्दा बढी उमेरका रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार आव ०७४÷७५ मा जिल्लामा कूल ६६७ जनाले सुरक्षित गर्भपतन गराए । तीमध्ये १८ जना २० वर्षभन्दा कम उमेरका र ६४९ जना २० वर्षभन्दा बढी उमेरका रहेका छन् । ०७५÷७६ मा जिल्लामा कूल ८१५ जनाले गर्भपतन गराएका छन् । तीमध्ये ७८ जना २० वर्षभन्दा कम उमेरका र ७३७ जना २० वर्षभन्दा बढी उमेरका रहेका छन् ।

आव ०७६÷७७ मा कूल ९५१ जनाले गर्भपतन गराएका छन् । तीमध्ये २० वर्षभन्दा कम उमेरका १०० जना र २० वर्षभन्दा बढी उमेरका ८५१ जना रहेका छन् । चालू आवको साउन महिनामा मात्रै जिल्लामा ३० जनाले सुरक्षित गर्भपतन गराएको  कार्यालय  फोकल पर्सन गोपाल कार्कीले जानकारी दिए । जिल्लामा दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह छन् । तीमध्ये सबैभन्दा धेरै रेसुङ्गा नगरपालिकाका महिला रहेका छन् । तीन आर्थिक बर्षमा नरपालिकाका एक हजार २६७ जनाले गर्भपतन गराएका छन् । ती मध्ये १२४ जना २० बर्षभन्दा कम उमेरका र एक हजार १४३ जना २० वर्षभन्दा बढी उमेरका रहेको उनले जानकारी दिए ।  तीन आवमा पनि इस्मा गाउँपालिकाका महिलाले गर्भपतन गराएका छैनन् ।

तम्घास अस्पतालका डा सुष्मा थपलियाले सुरक्षित गर्भपतन पनि शारीरिक हिसाबले हानिकारक भएको जानकारी दिए । गर्भपतन गराउँदा रगत धेरै जान सक्ने, सफा गर्दा पाठेघरमा गम्भीर प्रकारको असर हुनसक्ने, आन्द्रामा चोट लाग्नेलगायतको समस्या देखिने उनले बताए । त्यस्तै एकपटक गर्भपतन गराइसकेपछि लामो समयसम्म बच्चा नरहने सम्भावना पनि भएकाले सकेसम्म गर्भपतन नगराउन उनले  सुझाव दिए ।रासस


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...