http://bit.ly/bajajdurbartimes
Literature

यी गुन्टे मास्टरहरू हाम्राे क्रान्तिका तँगाराे हुन्, कमरेड!!


कमरेडहरू !!

क्रान्तिकारी अभिवादन,लालसलाम !!

गतसाता एउटा मास्टर माथी गरिएको सफल कारबाहीको खबर सुनेँ। धेरैपछी मन खुशी भो सुकिसकेको क्रान्तिको कुलोले बाढीको रूप धरेजस्तो भाे, निभिसकेको झिल्को ज्वाला बनेजस्तो भाे, ओस्सिएको पटाका भयानक विस्फोट भएजस्तो भाे । कार्यक्रममा सम्मिलित साथीहरूलाई धन्यवाद ,साथै बधाई । पार्टीले यहाँहरूको उच्च मूल्यांकन गर्ने कुरामा विश्वस्त छु। वास्तवमा कमरेडहरू, क्रान्तिको बाटोमा एउटै बाधा भनेकाे मास्टरहरू हुन् । यिनीहरूअस्तित्वमा रहुन्जेल हाम्रो महान् क्रान्ति सफल हुन सक्दैन। हामी भत्काउँदै जान्छौं, यीनीहरू जोड्दै आउँछन, हामी प्वाल पार्दै जान्छौँ, यिनिहरू टाल्दै आउँछन्। यीनका कलमहरू,हाम्रा हतियारभन्दा शक्तिशाली हुन्छन् ।

मास्टरहरूकाे हैसियत नै के छ र ?

क्षमा कमरेड, मैले मास्टरको तारिफ गरेको होईन। मास्टरको तारिफ कस्ले गर्छ र ? यी मास्टरहरूलाई आरोप मात्रै लगाएर म एउटा किताब तयार पारी कमरेडलाई उपहार टक्र्याउन सक्छु। मास्टर शब्द नै एउटा भद्दा मजाक र नीच सम्बोधन हाे भन्दा फरक पर्दैन। मास्टरमा त्यस्तो तारिफयोग्य गुण नै के हुन्छ र ?यीनीहरू त समाजको निरर्थक अङ्रेजीमा भन्दा अनइन्सपायर्ड पर्सन हुन्। यीनको जीवनलाई हेरेर सिक्नुजस्तो केहीपनी हुँदैन। साना थैला ,गुन्टा,थोत्रा लुगा,झुत्रा किताब बोकेर आउँछन् माथिबाट आदेश आउनासाथ फेरि त्यही कवाडी सामान तन्नामा गुण्टा पारेर,गाउँ-गाउँ ,लेक-लेक पुग्छन्। यीनीहरूको साथी भनेकै त्यही गुन्टा हो, घर, मामाघर, ससुराली जे भनेनी त्यही जीर्ण विद्यालय हो ।आफूले क, ख सिकाएको फुच्चेले संसार घुमिसक्दा,राजदूत भैसक्दा,एउटा महान् क्रान्ति सकेर अर्को क्रान्ति थालिसक्दा,कोहि मन्त्री बनेर उसैको जागीर तलमाथी पार्न सक्ने भैसक्दा पनि यी मास्टरहरू चैँ एउटै गल्ली ओहोरदोहोर गरेर ३० औँ वर्ष खेर फाल्छन्। तन्नेरी हुँदै कालो केश ढल्काएर स्कुल छिरेको मास्टर तालू खुईलेपछी उमेरले नै भरेभोली भन्ने बेलामा निस्किन्छन् !अनि त्यही गुन्टा च्याप्छन् ओरालो लाग्छन् ।

कहिँ नभएका आदर्शवादीहरू

संसारकै धनी बिल गेट्सको गरिब भएर जन्मिएपनी गरिबै भएर नमर्नु, भन्ने भनाईलाई यी गुन्टेहरूले गिज्याईदिन्छन् ।" टाढा किन जानुँ म आफैलाई पढाउने मास्टरहरू त्यस्ता थिीए ।  कमरेड नझुक्किनुहोला,  म आफैं पढुँ भनेर गएको होइन, उनी आफैं मलाई पढ्न बोलाउथे अनि "हतियार भन्दा, कलम बलियो हो" भनेर सिकाउन खोज्थे। ईतिहासले सँधै बलिदान खोज्छ, माटोले सँधै रगत माग्छ भन्ने महान् वाणी यिन्लाई के थाहा ?

यीनकाे हालत अहाे , भाे नसम्झाैँ हाेला

मन नलागी नलागी पढ्न जानुपर्ने, कोठामा पुग्यो उहि मट्टीतेलको नमिठो गन्ध, एक छेउमा कवाडी स्टोभ, स्टोभमाथी सत्ययुगको दिउरी, द्वापर युगको डाडु भुईँमा बोराको कार्पेट, बाक्साको टाठ, खुईलिएको तन्ना, टाँडजस्तो खाट । एकदिन मेरो बाले भनेका थिए १५ वर्षअघि त्यही तन्ना ओच्छ्याएर, त्यही खाटमाथी बसेर मेरो बा ले पनी उनिसँगै पढ्ने गर्थे रे। उनले त्यो तन्ना धुनुपर्थ्यो अरे । त्यो कुरा सम्झिँदा मलाई अहिलेपनी झनक्क हुन्छ,मास्टरहरू बालशोषण गर्छन्। कमरेड भलै मेरो बाले आजपनि उनकै गुणगान गाउँछन्, तर आफ्नो बाउलाई तन्ना धुन लाउने मास्टरको, धोती खुस्काउन नसक्ने छोरो, के छोरो ?

कति लाेभी हुन के यी मास्टरहरू

अहिले समाज पनि हाम्रो पक्षमा छ ,समाजले पनि मास्टरहरूलाई रूचाउँदैन ,यिनीहरू ब्रम्हाण्डकै माहालोभी हुन् भन्नेकुरा ढिलोचाँडो समाजले बुझ्दैछ । यिनीहरू कतिसम्म लोभी हुन्छन् भन्नेकुरा हामीले पहिलेदेखि नै नियाल्दै आएका छौँ । जनयुद्धकालमा स्कुलको चाैरमा क्रान्तिको अभ्यास गर्न पनि यीनलाई सोध्नुपर्थ्यो । यिनका घाँटिमा राईफल तेर्स्याएर स्कुल छोड्छस् कि धर्ती भनेर सोध्दा आज "एक पिरिएड त पढाउन दिनुहोस् "भन्थे  . एकदिन पढाउन पाए दाम आउँछ भन्ने यीनको नियत अहिले कोरोनाको महामारीमा झन् प्रष्ट भएको छ ।विद्यार्थीलाई स्कुल कहिल्यै नखुले हुन्थ्यो भन्ने भएकाे छ, अभिभावक पनि स्कुल फीको हैरानीबाट मुक्त भएर राहत महसुस गरिरहेका छन् ।   समाजमा युद्दपछिको युद्दमैदानजस्तो चकमन्नता छ । सबैमा शिक्षाप्रतिको चाहना मरिसक्यो, तर यी महामारीले सिध्याउन नसकेका,घाईते मास्टरहरू भने अझै स्कुल खोल्नुपर्छ भनेर चिच्याउँदैछन्।यसैबाट यिनीहरूको नियत प्रष्ट हुन्छ ।

म हिसाब लगाउंने गर्छु १ कक्षा देखि एसएलसी दिंदासम्म मैले मास्टरलाई तिरेको पैसा जम्मा पारेकाे भए एउटा चिटिक्कको कट्टु आउने रहेछ । घरमा चरम गरिबी छ ,चाडबाड मान्नै पर्यो, समाजमा बसेपछी दान दक्षिणा,बिहेबारी भ्याउनै पर्यो,जन्त जाँदा दौरा सुरूवाल लाउने, भत्तेर खाँदा टाईसुट ढल्काउने  चलन आको छ, प्रविधीको युगमा तिनचारओटा क्यामेरा भएको मोबाईल नबोके कामै चल्दैन, यस्तो दयनीय अवस्था यी मास्टरहरू बुझ्दैनन् । यिनिहरू त अझै "पुरानो कोट लगाऊ,नयाँ पुस्तक किन " भन्छन् ,लोभीहरू !

पुरातनवादी साेच बाेकेका मास्टरहरू

कमरेड ! मास्टरहरू पुरातनवादी हुन् ,परिवर्तन विरोधी हुन् । देशमा सत्ता फेरियो, व्यवस्था बदलियो । हिजो जनताले ढोग्नुपर्ने महाराजहरूले आज  जनतालाई ढोग्छन् । हिजो मन्दिर छिर्दा गाली खाईन्थ्यो, आज मन्दिर फोर्दा, मूर्ती चोर्दा दोसल्ला ओढाईन्छ । हिजो पुलिसले मात्रै चोर पक्रन पाईन्थ्यो, आज चोरले पुलिस पक्रीन्छन् । जताततै गणतन्त्र आएको आभास हुँदाहुँदै पनि यी मास्टरहरू यथास्थितिमै हुनाले गणतन्त्रको मिठासमा खल्लोपन महसुस हुन्छ . यीनलाई हिजोपनी मान्नुपर्ने ,आजपनी मान्नुपर्ने ? एउटै देशमा बस्दा, जसरी कोहि एक व्यक्तीलाई मान्नुपर्ने तानाशाहीको अन्त्य भयो, त्यसैगरी एउटै कक्षाकोठामा पस्दा, एउटा व्यक्तिलाई सम्मान गर्नुपर्ने तानाशाह गणतन्त्रमा चल्दैन ।अब मास्टरले नेता,विधार्थी,क्रान्तिकारिहरूलाई सलाम गर्न सिक्नुपर्छ नत्र ....

यीनिहरू यसै टेर्दैनन् कमरेड ,यिनीहरू यसरी टुप्पिनुको पछाडी ठूलो गिरोहको हात छ ।तिनीहरु पनि परिवर्तनका खलपात्रहरू हुन् ।समाजमा अन्याय र अत्याचारको जरा गाडेर बसेका सामन्ती,शोषक यिनै तथाकथित  बुद्दीजिवी बूढापाका भनिनेहरू हुन् । कमरेड, यिनिहरू नै मास्टर उक्साउंछन् ।यिनीहरू विधालयलाई मन्दिर भन्छन्, मास्टरलाई देउता मान्छन् । मुलुकले गणतन्त्र पाईसक्दा पनी अझै व्यक्तिविशेषलाई देवत्वकरण  गर्न यी अशिक्षित कुण्ठितहरूलाई हाम्रो डर हुनुपर्ने होनी हैन? कमरेड, वास्तवमा यी कुण्ठेहरूले नै गुण्टेहरूलाई उक्साएर हाम्रो क्रान्ति विफल पार्ने षड्यन्त्र गरेको कुरा गाईंगुईं छ। विदेशमा अच्छाखासा कमाई-धमाई गरिरहेका युवायुवतीहरूलाई यिनिहरूले स्वदेश फर्केर आफ्नै भूमिमा पसिना बगाउन,सिकेको सीप आफ्नै विधार्थीहरूलाई  सिकाउन,पढाउन अनुरोध गर्छन् रे । हुन त लाखौंको कमाई छोडेर,नाथे मास्टर बन्न को पो आउंथ्यो र?

तरपनि कमरेड , अचेल सपना पनि गतिलो देख्दिनँ, संकेत पनि राम्रो छैन ।यदि, साँच्चै ती तन्नेरिहरू घर फर्किए भने आज पो गाउँटोल सुनसान छ,स्कुलका मास्टरलाई बाघले बाख्रा घिसारे जसरी घिसार्दापनी बोल्न सक्ने कोहि भेटिंदैन ,घाँटी रेटेर देविभोग लाउंँदा पनि कसैले देख्दैनन् ।  पछि ती लाखौं तन्नेरिहरू देश फर्के भने त, हाम्रा जम्मा पाँच छ जना कमरेडहरूले गाउँका दुई तीन सय तिघ्रेहरूसंग युद्द लड्न सक्नु होला र?  फेरि ती सबै तन्नेरी यहि हरामी मास्टरका चेला चेलीहरू हुन्, हामीलाई पानीमुनी लुकेपनि छोड्ने छैनन् । तिनिहरू कुनै हालतमा देश फर्किन हुन्न कमरेड । देशमा अझै ठूलो राँको चाहिएको छ, धेरै स्कुलहरू कब्जा गर्नुपर्छ, सबै गुण्टेहरू सिध्याउनै पर्छ।  देश थुरथुर हुनु नै हाम्रो महान् क्रान्ति सफल हुनु हो ।

अन्त्यमा,कमरेडहरूलाई सफलताको शुभकामना !

महान् क्रान्ति सफल रहोस्..."विदाई कमरेड !!

यो लेख दरबार टाईम्सको लागि सुनिल कुमार बस्नेतले लेखेका हुन्।

तपाईंहरुलाई पनि दरबार टाईम्समा आफ्नो लेख प्रकाशन गर्ने इच्छा छ भने durbartimes@gmail.com मा पठाउन सक्नुहुनेछ।

1

५० हजारभन्दा बढी शंकास्पद आवेदन, कहिले हाेला बाँडफाँड

2

नेकपाकाे अध्यक्ष बन्लान त वामदेव ?

3

पोर्न साइट हेर्ने २० लाख प्रयोगकर्ताको डेटा लिक

4

चितवन सवारी दुर्घटना, २ को मृत्यु

5

बढ्यो सुनको मूल्य,यतिमा कारोवार भइरहेको छ

6

मेस्सीको आलोचना गर्दै यसो भन्छन् अर्जेन्टिनाका पूर्व गोलरक्षक


Share Tweet Send