दिवा तथा रात्रिकालीन पर्यटक बससेवा शुरु


दिवा तथा रात्रिकालीन पर्यटक बससेवा शुरु

काठमान्डौ | देशदर्शन बस सेवा प्रालिले दिवा तथा रात्रिकालीन पर्यटकलाई लक्षित गरेर बस सेवा शुरु गरेको छ । पछिल्लो समय विश्वव्यापीरूपमा फैलँदै गएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा समेत बढ्दै गएपछि झण्डै छ महिना लामो बन्दाबन्दी र निशेधाज्ञाले बन्द रहेको यातायात क्षेत्रमा पर्यटकलाई लक्षित गरेर दिवा तथा रात्रिकालीन सेवा शुरु गरिएको हो ।

यसअघि दिवा सेवामार्फत पर्यटकलाई गन्तव्यस्थलमा पुर्याउँदै आएका बाबा एडभेन्चर ट्राभल्स, बेन्चमार्क ट्राभल्स र दीपज्योति एडभेन्चर ट्राभल्सले देशदर्शन बस सेवा प्रालिमार्फत १६ वटा पर्यटक बसले पर्यटकलाई दिवा तथा रात्रिकालीन सेवा प्रदान गरेका हुन् । झण्डै रु १२ करोडको लगानीमा शुरु भएको बससेवा असोज १ देखि नै शुरु भइसकेको छ ।

प्रालिका अध्यक्ष श्रीकान्त आचार्य मुख्यमुख्य पर्यटकीयस्थललाई लक्ष्य गरेर दिवा तथा रात्रिकालीन बससेवा सञ्चालन गर्न लागेको बताउछन् । “कोभिड–१९ पछि पर्यटकीय बस पूर्णरूपमा सुरक्षित भएको महसुस गराएर बससेवा सञ्चालन गरेका छौँ”, उनी भन्छन् । आन्तरिक तथा बाह्य पर्यटक बस चढ्नुअगाडि शरीरको तापक्रम मापन गर्ने, चालक, सहचालक यात्रुलाई मास्कको अनिवार्य व्यवस्था गर्ने, बसभित्र स्यानिटाइज गर्नेलगायतका सम्पूर्ण व्यवस्था मिलाइएको अध्यक्ष आचार्य बताउछन् ।

हाल काठमाडौँदेखि मुख्य पर्यटकीयस्थललाई लक्ष्य गरेर झण्डै १०० पर्यटकीय बसले सेवा प्रदान गर्दै आइरहेका छन् । हाल काठमाडौँको सोह्रखुट्टे सडकबाट पर्यटकलाई बोकेर पर्यटक बस पोखरा, चितवन, लुम्बिनी र जनकपुर ओहोरदोहोर गर्दै आएका छन् । पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा समस्यासमेत परेको व्यवसायी बताउँछन् । व्यवसायीले हाल बिहान ५ देखि ७ बजेसम्म सोह्रखुट्टेको सडकमा पर्यटक बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन् । रातको समयमा भने ग्यारेजमा शुल्क तिरेर राख्नुपर्ने बाध्यता छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...